काठमाडौँ २२ कार्तिक / राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर बिहीबार अपराह्न छठी माताको राष्ट्रपति पौडेलले पूजाअर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना गरे ।
यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे।राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेको जनाइएको छ।