कास्की, जेठ ११: मञ्जुदेवी गुरुङ पोखराको उपमेयरमा फेरि निर्वाचित भएकी छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमाले उम्मेदवार गुरुङ उपमेयर निर्वाचित भएकी हुन्। मञ्जुदेवी यसअघि पनि उपमेयर थिइन्। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी सरस्वती गुरुङलाई पराजित गरेर मञ्जुदेवी उपमेयर निर्वाचित भएकी थिइन्।
यसपालि मञ्जुले निर्वाचन नलड्ने बताएकी थिइन्। तर पार्टीले उनलाई फेरि टिकट दियो। एमालेबाटै मेयरका उम्मेदवार कृष्ण थापा पराजित हुँदा उनका भन्दा १२ हजार ११ सय १० बढी मत ल्याएर मञ्जु फेरि उपमेयर निर्वाचित हुन सफल भएकी छन्। मञ्जुले ५६ हजार ४ सय ४८ मत ल्याएकी थिइन् भने सरस्वतीले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी थिइन्।
२०७४ सालमा पार्टीभित्रै भएको आन्तरिक निर्वाचनबाट चुनिएर उम्मेदवार सिफारिस भएकी थिइन्। यसपालि भने एमाले अध्यक्ष केपी ओली स्वयंले नै मञ्जुलाई उपमेयर बन्न आग्रह गरेका थिए। टिकट दिनुअघि सल्लाह नै नगरेको भन्ने उनको गुनासो थियो। आफूलाई चुनाव लड्ने इच्छा नभएको भन्ने उनको अभिव्यक्ति सार्वजनिक भएपछि ओलीले आग्रह गरेका थिए। चुनाव लड्ने इच्छा नभएकैले उम्मेदवार सिफारिसको सूचीमा नराख्न पनि उनले एमाले महानगरपालिका कमिटीलाई भनेकी थिइन्।
उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी पनि हुन्। महिला महिलाबीच गाँसिने मितिनी साइनोलाई गण्डकी र लुम्बिनी प्रदेशतिर सैनी भन्ने चलन छ। भोजपुरमा जन्मिएकी भण्डारी र स्याङ्जामा जन्मिएकी मञ्जुबीच सैनी लगाउनुका पछाडि उनीहरुबीचको एउटा समानता पहिलो कारण हो। भण्डारी र गुरुङ दुवैका श्रीमान्को निधन भइसकेको थियो। दुवै एकल महिला भए। त्यही समानता देखेर पोखरामा अरु नेता र मञ्जुका ठूलोबाबाले सैनी गाँस्न प्रस्ताव गरेका थिए।
भोजपुरमा जन्मिएकी विद्यालाई गण्डकी प्रदेशतिर छोरी मान्छेबीच गाँसिने सैनी सम्बन्धका बारेमा ऊ बेला थाहा नभएको पनि मानबहादुरलाई सम्झना छ। छोरा मान्छेहरुबीच मित लगाएजस्तो यता महिलाबीच सैनी लगाइन्छ। दुई कन्या राखेर, फूलपाती, चामल, अक्षता र पैसा राखेर, अनि एक अर्काको जुठो खाएर विधिपूर्वकै मञ्जु र विद्याले सैनी लगाएका थिए।
कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे। नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो। २०५४ मा पोखराको मेयर भएका थापा फेरि अहिले पनि मञ्जु जसरी दोहोरिन भने सकेनन्। अन्नपूर्ण पाेस्ट डटकमबाट