राष्ट्रपतिद्वारा जङ्गी अड्डा भवनको उद्‌घाटन

रिपोर्ट नेपाल | 2019 Apr 23 | 05:32 pm 2135

काठमाडौं, वैशाख १० : २०७२ सालको विनासकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात मंगलबार राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित भवनको उद्‌घाटन गरेकी छन् । नेपाल सरकारले नेपाली सेनाको संरचना अनुसार सुविधा उपलब्ध गराउने उद्देश्यले यस भवनको

२०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । नवनिर्मत भवनमा क्यूविकलसहित ४ सय ३० कोठाहरु रहेका छन् । जस मध्ये विभिन्न प्रयोजनका लागि सभाहलसमेत रहेका छन् । भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहने नेपाली सेनाले जनाएको छ। आवश्यकता अनुसार, छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको यस भवनका कार्यालयहरुमा एक हजार जनशक्ति कार्यरत रहने क्षमता रहेको छ ।

कार्यक्रमको शुभारम्भमा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आ–आफ्नो मन्तव्य राखेका थिए ।

भवन निर्माण सम्बन्धी जानकारी प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले गराएका थिए । उद्घाटन मन्तव्य पछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट भवनको निरीक्षण समेत गरेकी थिइन।

२०१६ सालमा हाल सैनिक मुख्यालय रहेको स्थानमा जङ्गी अड्डा भवनको निर्माण भएको थियो । २०७२ सालमा आएको विनासकारी भुकम्पबाट नेपाली सेनाका जङ्गी अड्डा भवनलगायत ११ सय ९ वटा भौतिक संरचना क्षति भएका थिए ।

जसमध्ये आंसिक रुपमा क्षति भएका ६ सय ९७ वटा भौतिक संरचनाहरुको प्रवलिकरण भएको, पूर्णरुपमा क्षति भएका ४ सय १२ भवन मध्ये उच्च प्राथमिकतामा रहेका ५७ वटा नयाँ निर्माण सम्पन्न भई सकेको, १६ वटा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको र अन्य बाँकी भौतिक संरचनाहरु प्राथमिकताको आधारमा आगामी वर्ष निर्माण गर्ने योजना रहेको बताइएको छ ।

उद्‌घाटन समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.