रामकुमारीको अस्त्रका अगाडि प्रधानमन्त्री निरिह

रिपोर्ट नेपाल | 2021 Feb 12 | 01:45 pm 32841

  • वसन्त भुजेल

वर्तमान शासन व्यवस्था स्थापनाको संघर्षका अग्रपंक्तिमा रहेर महत्वपूर्ण योगदान पुर्याएकी रामकुमारी झाँक्रीलाई सरकारले बिहिबार गिरफ्तार गर्यो । ७ वर्ष जेल सजाय र ७० हजार रुपैंयासम्म जरिवाना हुन सक्ने राज्यद्रोहको कानून अनुसार उनलाई पक्राउ गरिएको थियो । तर जनता तत्काल सडकमा उत्रेका कारण सरकारले उनलाई ५ घण्टा भन्दा बढी थुन्न सकेन ।

No description available.

फायल तस्विर

झाँक्री प्रधानमन्त्री केपी ओलीले विघठन संसदकी निवर्तमान सांसद समेत हुन् । लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा राष्ट्रप्रमुखको क्रियाकलाप माथि टिप्पणी गरे वापत निवर्तमान सांसद गिरफ्तार हुनु भनेको आफैमा ठूलो घटना हो । त्यसमा पनि झाँक्री निर्वतमान सांसद मात्रै होइनन्, सांसद पद भन्दा माथिको उचाई भएकी नेतृ समेत हुन् । अर्थात उनी सांसद भएकै कारण जनताले चिनेका होइनन्, जनताले चिनेका कारण उनी सांसद बनेकी हुन् । विद्या भण्डारीका हकमा भने ठीक उल्टो हो । लोकप्रिय नेता मदन भण्डारीको निधनपछि रिक्त रहेको स्थानमा तत्कालिन एमालेले उम्मेदवार बनाएपछि मात्रै भण्डारीलाई जनताले चिनेका हुन् । नेपालको इतिहासमै सबै भन्दा इमान्दर प्रधानमन्त्रीका रुपमा छवी बनाएका कृष्णप्रसाद भट्टराईलाई सांसद बन्नबाट रोक्नकै लागि मदन भण्डारीकी विधुवा विद्या भण्डारीलाई सेतो बस्त्रमा प्रस्तुत गरिएको यर्थाथतालाई नेपाली इतिहासको पानाबाट कसैगरे पनि छिपाउन सकिन्न । यो यर्थाथता हो । जसरी रामकुमारी झाँक्री राजनीतिक संघर्ष, क्षमता र योग्यताका आधारमा राजनीतिमा स्थापित भएकी हुन् त्यसरी विद्या भण्डारी स्थापित भएकी होइनन् । विद्या भण्डारी सांसद मात्रै बनिनन् पटक पटक मन्त्री हुँदै राष्ट्रपति समेत बनिन् । राष्ट्रपतिका रुपमा उनको यो दोस्रो कार्यकाल हो । केपी शर्मा ओलीसँग विशेष सम्वन्ध भएकै कारण उनले पटक पटक मन्त्री तथा राष्ट्रपति बन्ने अवसर पाएको यर्थाथतालाई पनि नेपालको इतिहासबाट लुकाउन सकिन्न । तर त्यो विशेष सम्वन्ध कुन हदसम्मको हो ? भन्ने प्रश्नलाई भने सडकमा सस्तो रुपमा प्रस्तुत गर्न मिल्दैन ।

No description available.

झाँक्री पक्राउ परेको घटना जति महत्वपूर्ण छ, पक्राउको कारण झन् महत्वपूर्ण र धेरै नै संवेदनशील छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अबैध सम्वन्ध रहेको सन्देश प्रवाह हुने गरी झाँक्रीले दुई साता अघि गोरखाको एक आमसभामा अभिव्यक्ति दिएको आरोप राज्य पक्षले लगाएको छ । झाँक्रीको अभिव्यक्तिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अबैध सम्वन्ध रहेको सन्देश दिन्छ वा दिँदैन ? त्यो छनविनको छुट्टै पाटो होला, तर यो घटनाको प्रकृति विशुद्ध राजनीतिक हो । राजनीतिमा यस्ता घटना हुन्छन् नै । विश्वकै लोकतन्त्रको नेतृत्व गरेको देश अमेरिकाका तत्कालिन राष्ट्रपति विलक्लिन्टन र उनकी निजी सचिव मोनिका लेवेन्स्की वीच यौन सम्पर्क हुने गरेको आरोपले ठूलो सनसनी मच्चियो । यो आरोप लगाउनेहरुलाई तत्काल पक्राउ गर्न अमेरिकी राज्य संयन्त्रले सक्थ्यो, तर पक्राउ गर्नु भन्दा यर्थाथता छानवित गर्नतिर राज्य संयन्त्र लाग्यो । छानविन गर्दै जाँदा यर्थाथता पुष्टि भयो । मोनिका लेवेन्कीसँग यौन सम्पर्क हुने गरेको राष्ट्रपति क्लिन्टनले स्वीकार गरे । अमेरिकी जनता समक्ष माफी मागे । जनताले माफी दिए ।

यसैगरी अंग्रेजकालिन भारतमा सर माउन्टवेटन निकै प्रभावशाली गभर्नर थिए । अंग्रेज हटाउने आन्दोलनका अगुवा जवाहरलाल नेहरुसँग उनकी श्रीमती एडविनाकोको प्रेम सम्वन्ध रहेको र कयौं दिनसम्म उनीहरु घुम्न जाने गरेको मिडियामा समाचार आउन थाल्यो । गर्भनर माउन्ट बेटनले यस्ता मिडियालाई बन्द गर्न सक्थे । उनलाई कानूनी अधिकार समेत थियो । आफ्नी श्रीमती अर्कासँग सल्केको समाचार लेख्ने मिडियासँग व्यक्तिगत रुपमा माउन्टबेटन कति रिसाएका थिए होलान ? तर उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भन्दै कानमा तेल हालेर बसे । उक्साउनेहरुले सार्वजनिक रुपमै प्रश्न गरे –‘तपाँइकी श्रीमती र नेहरुबीच प्रेम सम्वन्ध छ भनिन्छ नि ?’ माउण्ट बेटनले जवाफ दिए –‘ एडविना र म श्रीमान श्रीमती हुँ , यदी मेरी एडविनाले नेहरु जस्तो महान नेता सँग प्रेम गरकी छिन् भने मेरा लागि यो भन्दा खुशीको कुरा के हुन सक्छ र ?’

माथिका यी दुई उदाहरण अंग्रेजी समाजका हुन । नेपाली समाजमा भने कसैलाई ठेगान लगाउन यो मामिलालाई अस्त्रका रुपमा प्रयोग गर्ने गरिन्छ । यस्ता मामिला तथा आरोपले नेपालमा ठुला ठूला घटना भएका छन् । उदाहरणका लागि १ सय ४ वर्षको जहानीयाँ राणा शासनको उदयलाई लिन सकिन्छ । त्यतिबेला जंगबहादुर कुँवरले तत्कालिन महारानी राज्य लक्ष्मी र निकै प्रभावशाली भारदार गगनसिंह खवास बीच यौन सम्पर्क हुने गरेको प्रचार प्रसार गरे । महारानी र गगनसिंहको जनस्तरमै बद्नाम भयो । यही मौका पारेर उनले महारानीलाई नजरवन्दमा राखे भने गगन सिंहलाई फाँसी दिए । यसपछि उनले निश्कण्टक जहानियाँ शासन चलाए । तर त्यो युग अहिले छैन । हाल राष्ट्रपति पदमा रहेकी भण्डारी र हाल प्रधानमन्त्री पदमा रहेका ओलीबीचको सम्वन्धलाई अर्कै अर्थ लगाएर प्रचार गरिए पनि नेपाली जनताले सजिलै पत्याउने अवस्था छैन । सायद उमेर तथा स्वास्थ्यले पनि साथ नदेला ।

व्यक्तिगत रुपमा कसै माथि रिस उठ्यो भने आमासँग, दिदी बहिनीसँग जोडेर गाली गर्न थाल्ने हाम्रो समजको कु परम्परा नै हो । यस्तो कुपरम्परा बोकेको समाजमा विद्या भण्डारी र ओलीलाई जोडेर नारा लाग्नु आश्चर्यको कुरा भएन, तर यस्ता गाली गलौज असभ्य समाजका प्रतिक हुन् भन्ने कुरा हरेकले ख्याल गर्नु जरुरी छ ।

No description available.

आज मुलुकमा विशेष परिस्थिति छ । जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको संसद प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेको अवस्था छ । यो कुरा प्रधानमन्त्री ओलीका मतियार बाहेक कसैलाई चित्त बुझेको छैन । उनीहरु धेरै नै आक्रोसित छन् । ६ महिना भित्र अर्को निर्वाचन नहुने परिस्थिति एकातिर छ भने अर्कातर संविधानले प्रधानमन्त्रीलाई मनपरी संसद विघटन गर्ने अधिकार नदिएको जनबुझाई छ । यस्तो अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा उपस्थित दलहरुको परामर्श र सर्वोच्च अदालतको राय लिएर मात्रै कदम चालेको भए हुन्थ्यो, भन्ने जनबुझाई रहेको छ । तर प्रधानमन्त्री ओलीले कतिबेला सिफारिस पत्र ल्याउलान र सदर गरौंला भन्दै कलमको विर्को खोलेर राष्ट्रपति भण्डारी बसेको देखियो । जसले गर्दा विशेष सम्वन्धका कारण पहिले नै सेटिङ भइसकेको त थिएन ? भन्ने शंका उत्पन्न भयो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई जोडेर सडकमा लागेका नारा यही शंकाका उपज हुन् । युवा नेतृ क्राँक्रीको अभिव्यक्ति पनि यही शंकाको उपज हो । किनकी नेतृ झाँक्री त संसद विघटन प्रकरणकी प्रत्यक्ष शिकार समेत हुन् । उनको सांसद पद अवशान भएको छ । त्यसैले उनका अभिव्यक्तिमा आक्रोस मिसिनु स्वभाविकै हो । हुन त महारानीको शाब्दिक अर्थ र बडामहारानीको शाब्दिक अर्थका विषयमा पनि कतिपयले टिकाटिप्पणी गरेका छन् । बडामहारानी शब्दले राजाकी पहिलो मर्यादाक्रमकी श्रीमती भन्ने अर्थ दिने भएकोले झाँक्रीको यो भनाई घोर आपत्ति जनक रहेको टिप्पणी गर्नेहरु पनि छन् । तर शासन सत्तामा रहेका ठकुरीहरुको भाषा दुर्गम कुनाकन्दरामा जन्मेहुर्केकी मगरकी छोरीले बुझ्नै पर्छ भन्ने दाबी अर्को अतिबाद हो । यदी भाषिक शुद्धाशुद्धीलाई निहुँ बनाएर गिरफ्तार गरिएको हो भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली अझै पाँचौ– छैठौं शताब्दीमै छन् भन्ने बुझ्दा हुन्छ ।

घटना वीरेन्द्र भरखर राजा भएको बेलाको हो । उनले सबै जिल्ला सदरमुकाममा सडक पुर्याउने घोषणाका साथ रेखांकन गर्न लगाए । रेखांकन चित्त नबुझे पछि रसुवाका एक तामाङ अगुवाले दरवारमा विन्तीपत्र हालेर राजाको दर्शन भेट गरे । दर्शन भेटका क्रममा उनले राजालाई कुनै बेला तिमी, कुनै बेला तँ, भन्ने शब्द प्रयोग गरे । यो सुनेपछि वरिपरी बस्नेहरुले अप्ठेरो महशुस गरे । तर राजाले उनीहरुलाई तत्काल सम्झाउँदै भने – ‘हाम्रो मुलुक चार जात छत्तिस वर्णको साझा फुलवारी हो, हामीले बोल्ने भाषा सबैले जान्नै पर्छ भन्ने छैन ।’ दुरदराज तिर हाम्रो बोलिचालीको भाषामा आफ्ना बा, आमा, बाजे, बज्यैलाई समेत तिमी भन्ने चलन छ । हजुर र तपाईं शब्द ठेट जनजीवनमा थोरै मात्रै प्रयोगमा छ । केही दशक अघि मात्रै तत्कालिन राजा ज्ञानेन्द्र शाह देश–दराज डुल्दा पनि कतिपय क्षेत्रका जनताले तिमी भनेरै सम्वोधन गरेका थिए । राजा ज्ञानेन्द्रले त्यस्ता सम्वोधनलाई मीठो मानेर ग्रहण गरे । तर जननिर्वाचित प्रधानमन्त्री भनिएका ओलीले आफूलाई र राष्ट्रपति भण्डारीलाई तिमी शब्द प्रयोग नगर्न पटक पटक उर्दी जारी गरिरहेका छन् । यो के को संकेत हो ? आफूलाई र राष्ट्रपति भण्डारीलाई देवत्वकरण गर्न खोजेको संकेत हो कि होइन ? देवतालाई समेत तिमी भन्ने संस्कार हो हाम्रो । अझ महाकवि लक्ष्मीप्रसाद देवकोटाले त तिमी समेत भनेका छैनन् । उनले इश्वरलाई समेत तँ भनेर लेखेका छन् । मुनामदनमै छ –‘ इश्वर तैंले रचेर फेरी कसरी बिगारिस् ।’

No description available.

राजतन्त्र र लोकतन्त्र भनिएको ओली–भण्डारीतन्त्रमा फरक यत्ति छ कि राजाहरुले जनजीजन बुझेका थिए, अहिलेका शासकहरुले बुझेका रहेनछन् । हिँजो राजारानी विरुद्ध अहिले भन्दा चर्का नारा लाग्ने गर्थे, गाली गलौज गरिन्थे तर प्रयोग गरिएको भाषाकै कारण कोही पनि गिरफ्तारीमा परेका थिएनन् । यिनै रामकुमारी झाँक्रि जस्ता जुझारु कार्यकर्ताले आफ्नो टाउकोमा कफन बाधेर गरेको आन्दोलनको स्वाद वर्तमान केपी ओलीले लिई रहेका छन् । झाँक्रिको यो व्यवस्था ल्याउनका लागि फुटेको टाउकाको दाग अझै मेटिएको छैन तर, दुर्भाग्य आज उनै रामकुमारी झाँक्रि फेरि लोकतान्त्रिक व्यवस्थामा बोलेकै कारण गिरफ्तारीमा परिन् । यो लोकतन्त्रको मृत्यु भएको संकेत हो । अब २०४७ सालको संविधानमा फर्कन ढिलाई गर्नु हुन्न ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.