काठमाडौं, असाेज ११: राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न दशैँ-तिहारलगत्तै ‘जनकपुर-लुम्बिनी धार्मिक यात्रा’ आयोजना गर्ने घोषणा गरेको छ।
दशैँ, तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सम्बाेधन गर्दै पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको सो अभियानमा सबैलाई सहयोग, सद्भावना र सहभागिताका लागि पनि आग्रह गरे।
राप्रपा (संयुक्त) का अध्यक्ष राणाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न तिहारलगत्तै सो धार्मिक यात्रा गर्ने घोषणा गरे ।
अध्यक्ष राणाले मुलुकको राजनीतिक परिदृष्य निराशाजनक रहेको तथा आर्थिक परिसूचकहरू कहाली लाग्दो रहेको उल्लेख गर्दै त्यसबाट मुलुकलाई मुक्त गराउन नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरेका थिए।