राप्रपामा सहमति चुनाव चिह्न ‘हलो’, झन्डा ‘गाई’

रिपोर्ट नेपाल | 2020 Sep 17 | 08:04 am 2198

काठमाडौं, असाेज १ः राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको पटक पटकको छलफल पछि एकीकृत पार्टीको निर्वाचन चिह्न ‘हलो’ र झन्डामा ‘गाई’ राख्ने सहमति भएको हो ।

जसअनुसार अब चिह्न एकताअघि राणा समूहले मान्दै आएको ‘हलो’ तथा झन्डा एकताअघि कमल थापा नेतृत्वको राप्रपाले मान्दै आएको ‘गाई’ अंकित हुनेछ । पार्टी एकता हुँदा भने ६ महिनाभित्र चिह्न तय गर्ने सहमति गरिएको थियो ।
राप्रपा केन्द्रीय सदस्य जनक पाठकले निर्वाचन चिह्नमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको दाबी गरे ।

निर्वाचन चिन्हमा ‘हलो’ र झन्डामा ‘गाई’ अंकित हुने गरी अध्यक्षत्रयबीच सहमति भएको छ, पाठकले राजधानीसँग भने । तीन अध्यक्षबीच अझै पनि पार्टीको विधानका विषयमा सहमति जुट्न बाँकी छ । थापा पक्षीय नेताहरू आफ्नो पक्षबाट पहिले निर्वाचन आयोगमा बुझाइएको विधानलाई नै एकीकृत पार्टीको अन्तरिम विधान कायम गरिनुपर्ने पक्षमा छन् भने राणा–लोहनी पक्ष त्यसो गर्दा पार्टी एकताको भावनाविपरीत हुने भन्दै त्यसलाई अस्वीकार गर्दै आइरहेका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.