रात्री बस दुर्घटना हुँदा लमजुङमा एककाे मृत्यु, तीन घाइते

रिपोर्ट नेपाल | 2020 Oct 04 | 08:35 am 1997

लमजुङ, असाेज १८ः शनिबार साँझलमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएको छ ।  बस दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ भने, तीन जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको जिल्ला अस्पतालले जनाएको छ ।

ग १ ख ६५०१ नम्बरको यात्रु बाहक रात्री बस जिल्ला सदरमुकाम बेसीशहरबाट यात्रु लिएर वीरगंज जादै गर्दा  बेसीशहर नगरपालिका– १ उदिपुरमा दुर्घटना भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेलुका ७ः४५ बजे दुर्घटनामा भएको हो ।

उक्त दुर्घटनामा चार जना घाइते भएकोमा एक जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लग्नासाथ चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । मृत्यु हुनेमा बेसीशहर नगरपालिका– १ को धिमिरे गाउँका २६ वर्षीय अर्जुन परियार रहेका छन् ।

घाइते अन्य यात्रुहरूकाे उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा पठाइएको उदिपुर स्थित अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी हवल्दार दिपेन्द्रराज पन्तले बताए ।

उनका अनुसार बस सडकबाट करिब एक सय मिटर तल धान खेतमा खसेको छ । उद्दार कार्य जारी रहेको छ र थप विवरण आउन बाँकी छ । बसका चालक सम्पर्क बाहिर रहेकाले यात्रुको संख्या कति थियो भन्ने एकिन हुन नसकेको प्रहरी हवल्दार पन्तले जानकारी दिए । उनका अनुसार उदीपुर बजार कट्नासाथको घुम्ती पार गर्न लाग्दा बस धान खेतमा खसेको हो ।

घाइते हुनेहरूमा बेसीशहर नगरपालिका– ४ का २८ वर्षीय मनोज गुरुङ, सोही वडाका १९ वर्षीय दिपेन्द्र गुरुङ र राइनास नगरपालिका– ९ का सुदीप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गंगाबहादुर थापाले बताए ।

उनका अनुसार मनोज र सुदीपको थप उपचारका लागि पोखरामा रिफर गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.