राज्य भङ्ग गरिनुअघिका दुःखद् दृष्यहरू !

| 2023 Nov 15 | 10:22 am 1529

काठमाडौँ, कार्तिक २९।एक अर्कोप्रतिको विश्वास नरहेपछि प्रेम-सम्बन्ध समाप्त हुन्छ, नातेदारहरूसँगको नाता टुट्छ । कसैका बीचको आस्था, नाता, भरोसा र सम्बन्ध समाप्त गर्नुछ भने सबैभन्दा पहिला विश्वास तोडिदिनुपर्ने हुन्छ । विश्वास तोडिएपछि आफ्नै पिता पनि पिता रहँदैनन् र, पुत्र पुत्र रहन्नन् । विश्वास, भरोसा र आस्था टुटेपछि राज्य (देश अर्थात राष्ट्र) समेत राज्य रहँदैन ।

नेपालमा केही दशकयता परस्पर आस्था र विश्वास तोडेर राज्य विघटनको उर्वर अवस्था पैदा गर्न योजनाबद्ध प्रयास भइरहेका छन् । कुनै समय राणा परिवारको निरङ्कुश शासन थियो, त्यसविरूद्ध वातावरण बनाउन खोजियो र, कानूनीराजका निम्ति प्रजातान्त्रिक प्रणाली स्थापना गरिने लक्ष्य आफैमा सुन्दर भएकोले शासक राणाविरूद्ध रचिएका हरेक रणनीतिक कदमलाई जायज ठानियो । तर राणा शासकविरूद्ध घृणा बिस्तारका निम्ति रचिएका रणनीतिक चालहरू अन्ततः नेपाली राजनीतिको त्यस्तो संस्कार बन्न पुग्यो, जुन संस्कारको प्रहार हरेक सरकारले खप्नु परिरहेको छ ।

तीन दशक लामो प्रजातान्त्रिक आन्दोलनको उपलब्धिका रूपमा हामीलाई २०४६ सालमा बहुदलीय संसदीय प्रजातन्त्र प्राप्त भयो र, त्यसपछि २०४८ मा भएको संसदीय निर्वाचनले देशलाई एउटा प्रजातान्त्रिक सरकार दियो । प्रजातन्त्रमात्र यस्तो प्रणाली हो जहाँ विपक्षी भूमिकालाई समेत राज्यको एक महत्वपूर्ण अङ्गका रूपमा स्वीकार गरिएको हुन्छ । हरेक समस्याको पहिचान र समाधान खोज्ने कार्य संसदभित्रै हुन्छ, साँच्चै भन्ने हो भने सत्तापक्ष सरकारमा हाबी भए झैँ संसद्मा चाहिँ सैद्धान्तिक रूपले नै विपक्षीको स्थान सर्वाधिक महत्वपूर्ण रहन्छ । तर सरकार र सत्तापक्षको विरोध मात्रै गरिरहनुपर्छ र, त्यस्तो विरोध सडकमै शक्ति प्रदर्शन गरेर गर्नुपर्छ भन्ने संस्कार (school of thought) बाट नेपाली राजनीति ग्रस्त भइसकेको हुँदा २०५ जनाको संसद्मा ६९ स्थान हाशील गरेर प्रमुख विपक्षी बनेको दल जननिर्वाचित सरकार गठन भएको तीन महिना नपुग्दै सडक-सङ्घर्षमा उत्रियो । र, जुन ब्यवस्था भएपनि सरकारका विरूद्ध सडक सङ्घर्ष नै गर्नुपर्छ भन्ने सन्देश दियो । विपक्षले यसरी सत्तापक्ष विरुद्ध अनास्था र घृणा फैलाउने कार्य गरेपछि सत्तापक्ष पनि विपक्षीप्रति सहिष्णु बन्न कहिल्यै खोजेन ।

राज्य समग्र राष्ट्रसेवाको एउटा निर्णायक साधन हो, कम्युनिष्टहरू राज्यलाई सेवाको साधन ठान्दैनन् । उनीहरूको विचारमा राज्य केवल शोषणको साधन हो । अल्पसङ्ख्यक पूँजिपति र सामन्तहरू राज्यसत्ता आफूमा निहित तुल्याएर गरीव र श्रमिक वर्गमाथि शासन र शोषण गरिरहेका हुन्छन्, तिनको हातबाट राज्यसत्ता खोसेर तिनिहरूमाथि नै शासन गर्नुपर्छ भन्ने अवधारणालाई उनिहरूले क्रान्तिकारी विचारको रूपमा स्थापित गरेका छन् ।

अहिले तीन दशकपछि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेकै ब्यक्तिले लाखौँ मानिस सडकमा उतारेर सङ्घर्ष गर्ने धम्की दिइरहेका छन् । विपक्षी मात्र होइन अब त सरकार आफै पनि जनप्रदर्शनमा उत्रिने नयाँ संस्कारको विकाश गर्न अग्रसर छ । प्रजातन्त्रमा जनसमर्थन निर्वाचनका माध्यमबाट प्रकट हुने गर्दछ र, प्रचण्डले आफूलाई प्राप्त जनमत भुलेका हुन् भने गत संसदीय निर्वाचनको परिणाम निर्वाचन आयोगबाट मगाएर हेर्न सकिन्छ । एकअर्काप्रति अनास्था र अविश्वास बढाउने धन्दामा दुवैथरी (सत्तापक्ष र प्रतिपक्ष) बीच प्रतिष्पर्धा नै चल्न थाल्यो । परिणामस्वरूप सरकार भनेको जहिले पनि जनविरोधी हुन्छ र बन्नेबित्तिकै त्यसलाई ढालिहाल्नुपर्छ भन्ने परम्परामा नयाँ मोड आएको छ, अब सरकार आफै पनि जनप्रदर्शनमा उत्रने विकृत संस्कृतिको जग बसेको अनुभूत गरिएको छ । साढे तीन दशकको हाम्रो प्रजातान्त्रिक अभ्यासले नेपालमा सरकार ठड्याउने भनेकै ढाल्नका निम्ति हो भन्ने परम्परा र संस्कारको विकाश गरेको थियो, अब अप्रकट विरोधीविरुद्ध सरकारले सडक सङ्घर्ष रचेको पनि हेर्न पाइने भएको छ !

२०५२ सालमा माओवादीले प्रजातन्त्रविरुद्ध हिंसात्मक गतिविधि सुरु गरेपछि मानिसमा राज्यप्रति नै अविश्वास, अनास्था र घृणा बिस्तारको योजनावद्ध शृङ्खला सुरु भयो । वास्तवमा कम्युनिष्टहरू राज्य प्रणालीमा विश्वास गर्दैनन् । राज्यहरू मेटेर मात्र साम्यवाद स्थापना हुनसक्छ भन्ने सिद्धान्तमा आधारित चेतले उनीहरूलाई सम्पूर्ण विध्वङ्शक भूमिकाका निम्ति प्रेरित गऱ्यो । राज्य समग्र राष्ट्रसेवाको एउटा निर्णायक साधन हो, कम्युनिष्टहरू राज्यलाई सेवाको साधन ठान्दैनन् । उनीहरूको विचारमा राज्य केवल शोषणको साधन हो । अल्पसङ्ख्यक पूँजिपति र सामन्तहरू राज्यसत्ता आफूमा निहित तुल्याएर गरीव र श्रमिक वर्गमाथि शासन र शोषण गरिरहेका हुन्छन्, तिनको हातबाट राज्यसत्ता खोसेर तिनिहरूमाथि नै शासन गर्नुपर्छ भन्ने अवधारणालाई उनिहरूले क्रान्तिकारी विचारको रूपमा स्थापित गरेका छन् । स्थापित धर्म, संस्कृति, परम्परा, इतिहास, सभ्यता, राज्यसत्ता, मौलिक मूल्य-मान्यता, सामाजिक र आर्थिक संरचना, नेतृत्व आदि सबै नास गरेर नयाँ बनाउनुपर्छ भन्ने उनीहरूको वैचारिक मान्यताले देशमा घृणाको ब्यापार बढाउँछ, कम्युनिष्टहरूले बढाएको यस्तै ब्यापार हो ।

राज्यसंयन्त्रका सबै तीन निकायप्रति नेपाली जनताको आस्था र विश्वास यतिबेला भङ्ग भएको छ । सरकार बदनाम छँदैछ, न्यायपालिकाले आफूप्रतिको आस्था र विश्वास रित्त्याइसकेको छ, कर्मचारी प्रशासन आफ्नै कार्यब्यवहारले बदनाम भएको छ, देशको सत्रुसंस्थाको रूपमा कर्मचारी प्रशासनलाई बुझ्न थालिएको छ ! प्रहरी सङ्गठनले पनि जनविश्वास गुमाएको छ । २०६३ को परिवर्तनलगत्तै नेपाली सेनाको बदनामी योजनाबद्ध ढङ्गबाट भइरहेको छ । वर्दी र एकथान पेटको रक्षा गर्ने कार्यलाई प्राथमिकता दिँदै जाँदा नेपाली सेना राष्ट्ररक्षकको जिम्मेवारी र भूमिकाबाट स्खलित हुँदै गएको अनुभूति हरेक नेपालीले गरिरहेका छन् । राज्य संयन्त्रका त्यस्ता कुनै पनि अङ्ग अब बाँकी छैनन्, जसले देशका पक्षमा केही गर्दैरहेको अनुभूति गराएको होस् !

पुराना र स्थापित राजनीतिक शक्तिहरू सत्ताप्राप्तिको जङ्गली शैलीका प्रतिष्पर्धामा सामेल छन् । नयाँ शक्तिका रूपमा सिँगारपटार गरेर रातारात मायावी शैलीमा उत्पत्ति गराइएका ब्यक्तिहरू युक्रेनका निम्ति जिलेन्स्की जस्तो, सोभियत सङ्घका निम्ति मिखाइल गोर्वाचोभ जस्तो पुराना भन्दापनि खतरनाक चरित्र र ब्यवहारका देखिँदै छन् । तिनका दिल र दिमागमा पनि सत्ता र केवल सत्ताबाहेक देश, जनता, धर्म, एकता र सद्भाव पक्षका कुनै गुण देखिएका छैनन् । आफूलाई अग्ल्याउने भन्दा पनि अरूलाई होच्याएर आफ्नो स्थान खोज्ने संस्कारको बिस्तार र विकाशमा नयाँ केटाकेटीहरू केन्द्रीत रहेका छन् ।

यतिबेला मुलुकमा कोही-कसैकाप्रति कसैको आस्था र विश्वास छैन । जनता राज्यप्रति विश्वस्त छैनन्, त्यसैले आफ्ना सन्तानलाई यहाँभन्दा पराया भूमिमा सूरक्षित ठान्ने राष्ट्रिय सोचको विकाश हुन पुगेको छ ! व्यापारी, उद्यमी, राजनीतिक ‘ब्यवशायी’ तथा प्रशासनिक ‘ब्यवशायी’ लगायत सबैले आर्जित धनको सूरक्षा स्वदेशमा नहुने ठानेका छन्, त्यसैले इतिहासमै पूँजीपलायनको घातक स्थिति उत्कर्षमा पुगेको छ । राज्यप्रति जनस्तरमा उत्पन्न निराशाले उनीहरूमा ‘बरू कुनै अर्कै मुलुकले आफ्नो जिम्मा लिइदिए हुनेथियो’ भन्ने तहको सोच जन्माइदिएको छ ।

राजनीतिजीवी र प्रशासनजीवीहरूको कुल सङ्ख्या हेरियो भने सम्पूर्ण जनसङ्ख्याको सात प्रतिशत पनि देखिन्न, तर त्यही सात प्रतिशतको कार्यब्यवहारले त्रियान्नब्बे प्रतिशत मानिसको उठिबास लाग्ने परिस्थिति निर्माण गरिदिएको छ ।

प्रजातन्त्रमात्र यस्तो प्रणाली हो जहाँ विपक्षी भूमिकालाई समेत राज्यको एक महत्वपूर्ण अङ्गका रूपमा स्वीकार गरिएको हुन्छ । हरेक समस्याको पहिचान र समाधान खोज्ने कार्य संसदभित्रै हुन्छ, साँच्चै भन्ने हो भने सत्तापक्ष सरकारमा हाबी भए झैँ संसद्मा चाहिँ सैद्धान्तिक रूपले नै विपक्षीको स्थान सर्वाधिक महत्वपूर्ण रहन्छ ।

यो समयमा सबै राजनीतिक शक्ति र ब्यक्तिका बीचमा राष्ट्रिय समझदारीको उच्च प्रयास हुनुपर्ने हो । तर त्यस्तो प्रयासको तदारुकता लिने योग्यता र अग्रसरता कुनै पनि दलले दर्शाउन सकिरहेका छैनन् । अरू त अरू भइगए, राजसंस्था पुनर्स्थापनाको पक्षधर दाबी गर्नेहरूको दृष्टिकोणसमेत एकपक्षीय र निषेधात्मक छ । राजाको कुनै वाद हुँदैन, उनको वाद भनेपनि र जे भनेपनि राष्ट्र मात्र हो । राजसंस्थाकै पक्षधरहरूबाट समेत दलका नेताहरूको जस्तै विभाजनकारी क्रियाकलाप हुन्छन् भने सबैलाई समेट्न सक्ने योग्यता र क्षमता कसमा भेट्ने ? कसमा देख्ने र, कसमा खोज्ने ?

समाजमा गाली-संस्कृतिको चरम विकास भएको छ, नकारात्मकता र घृणाको ब्यापार फस्टाएको छ । त्यसैले बौद्धिक र प्राज्ञिकहरूको स्थान अल्पशिक्षित एवम् अशिक्षित ‘गाली-शिरोमणि’हरूले लिएका छन् । परस्पर घृणा र अविश्वास फैलाउन सक्नेहरूलाई नै आफ्नो मूक्तिदाता ठान्ने भ्रमले आमनेपालीलाई गाँजेको छ । यस्तो संस्कार र संस्कृतिले अन्ततः पुऱ्याउने भनेको नरकमै मात्र हो भन्ने बुझ्न आमजनताले सकिरहेका छैनन् ।

कुनै समय अरू कसैले नसके राजाले सक्छन् भन्ने ठानिन्थ्यो, त्यसले आम मानिसको आत्मविश्वास जगाउने काम गर्दथ्यो, अब राजसंस्था रहेन ! राजतन्त्रको विस्थापनपश्चात् अरूले नसके सेनाले बचाइदिन्छ भन्ने झिनो आशा राखिन्थ्यो, तर अब सेनाप्रतिको भरोसा र विश्वास पनि उडिसकेको अनुभूति हुन्छ । जब देशमा हरेकले हरेकलाई दोषी मात्र देख्छ र, गाली मात्र गर्ने गरिन्छ, जब राज्यका सबै अङ्गहरुप्रतिको भरोसा र विश्वास हराउँछ, त्यस्तो अवस्थाले पुऱ्याउने भनेकै राज्य विघटनको स्थितिमा हो ! हामी यतिबेला राज्य विघटनको सङ्घारमा आइपुगेका छौँ, के अझैपनि आँखा बन्द नै गरिरहने हो ? कल्पनाको स्वर्ग लुटिने र आफ्नो पहिचान मेटिने निश्चित भइसकेको यो विकराल स्थितिमा पनि हामी एकअर्कालाई गालीको भाला तेर्स्याएरै तुष्टि लिइरहने हो ?

आउनुहोस्, एकपटक आँखा खोलौँ, बुद्धिमा लागेको ढक्कन हटाऔँ, जय मातृभूमि !

(घटना र विचारबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.