राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा

| 2024 Aug 03 | 01:34 pm 613

काठमाडौं १९ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शमशेर राणाले कीर्तिपुर नगर तहको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा भएको बताएका छन्।

उक्त्त कार्यक्रमलाई सम्बोधन गर्दै राणाले राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौँ । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौँ भनेका छन्।

विगतको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको उनले स्पष्ट पारेका छन् ।

महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसङ्गति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको सङ्कट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात् गर्नुपर्ने बताइन् । नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म संस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रवक्ता तथा सङ्गठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले नयाँ नेपाल बनाउँछु भन्ने समाजवादी, साम्यवादी र कथित लोकतन्त्रवादीहरूले देशलाई धुजा धुजा पारेको, प्रजातान्त्रिक नियन्त्रण सन्तुलन ध्वस्त बनाएको र लाज पचाएर जनतालाई ढाँटेको भन्दै दुख व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.