राजस्व हिनामिना मुद्दामा कैद पाएर फरार भएका कर्मचारी बिराटनगरबाट पक्राउ

| 2023 Dec 05 | 03:59 pm 1089

बिराटनगर, मंसिर १९/  राजस्व हिनामिना गरेर विशेष अदालतले ६८ कराेड ३२ लाख २२ हजार ३ सय ८ रूपैया जरिवाना ताेकेपछि फरार रहेका यातायातका पाँच कर्मचारीलाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा यातायात व्यवस्था कार्यालय सवारी काेशी इटहरीका तत्कालीन लेखापाल मणिराज दाहाल,नयराज नेपाल ,कुमारबहादुर कटुवाल ,टिकाराम अधिकारी र देवराज नेपाल रहेको कुरा जिल्ला प्रहरी कार्यालय माेरङका सूचना अधिकारी रन्जन कुमार दाहालले बताए । उनिहरूलाई विशेष अदालतले २०७९ चैत ८ गते दाेषी ठहर गरेको थियोे ।

अदालतले लेखापाल मणिराज दाहाललाई ७ बर्ष ११ महिना २३ दिन कैद र ४ कराेड ३४ लाख ५ हजार ५ सय ९४ रूपैयाँ जरिवाना सुनाएको थियोे । त्यस्तै नयराज नेपाललाई ८ बर्ष कैद र १२ कराेड ३५ लाख २९ हजार ३ सय ४२ रूपैयाँ जरिवाना रहेको छ।कुमारबहादुर कटुवाललाई पनि ६ बर्ष कैद र १ कराेड ६५ हजार ८ सय १२ रूपैयाँ जरिवाना सुनाएको छ।त्यस्तै टिकाराम अधिकारीलाई ९ बर्ष कैद र २८ कराेड १५ लाख ९३ हजार ८ सय ८४ जरिवाना सुनाइएकाे थियोे ।अर्का कर्मचारी देवराज नेपाललाई पनि ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रूपैयाँ जरिवाना ताेकिएकाे थियाे।

यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीले आव २०६९/०७० र ०७०/०७१ मा भएको ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना र आव २०७१/०७२, २०७२/०७३ र २०७३/०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

राजस्व रकम हिनामिना मुद्दामा यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका चार जना उपसचिवसहित ११ जना कर्मचारीलाई विशेष अदालतले कैद सजाय सुनाएको थियो । कैद सजाय भएपछि उनीहरु फरार थिए । मोरङ प्रहरीले उनीहरुलाई विराटनगरबाट सोमबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका डीएसपी दाहालले जानकारी दिए । अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानको लागि मोरङ कारागार चलान गरिएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.