राजस्व विभागले निकालेको सूचनाले करदातालाई सन्त्रास फैलाएको सर्वाेच्चकाे स्पष्ट

| 2020 Jun 12 | 08:26 am 1886

काठमाडाैं, जेठ ३०ः सर्वोच्च अदालतले आगामी असार ७ गतेभित्र कर दाखिला गर्न आन्तरिक राजस्व विभागले निकालेको सूचनाले करदातालाई सुविधा दिएको भन्दा सन्त्रास फैलाएको स्पष्ट गरेको छ ।

सर्वोच्चले बुधबार सो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । बिहीबार सो आदेशलाई लिखितरूपमा तयार गर्दै सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन्दा सन्त्रास फैलाएको स्पष्ट गरेको हो ।

सरकारले व्यवसायीहरूलाई आउँदो असार ७ गतेसम्म कर तिर्नुपर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न बुधबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सो आदेशको लिखितरूपमा तयार गरेको हो । आदेशमा कर तिर्न दिएको समयमावधिले करदातालाई सन्त्रास फैलाएको जनाएको हो ।

सरकारले यही जेठ २० गते सूचना जारी गरी सोही महिनाको २५ गतेभित्र कर तिरी थप दस्तुर, ब्याज र जरिवानाबाट बच्न सम्पूर्ण करदातामा आह्वान गरेको थियो ।

सरकारले त्यस्तो सूचना जारी गरेपछि प्रायः सम्पूर्ण व्यवसायीले आन्दोलन गरेका थिए । व्यवसायीको आन्दोलनपछि सरकारले अर्को सूचना जारी गरी आउँदो असार ७ गतेसम्म कर तिर्ने अवधि लम्ब्याएको थियो ।

सर्वोच्चको आदेशमा भनिएको छ– ‘लामो बन्दाबन्दी पश्चात् उक्त म्यादभित्र सबै करदाताले आ–आफ्नो व्यापार व्यवसाय यथास्थितिमा पूर्ण सञ्चालनमा ल्याई आफ्ना कर्मचारी एवं हिसाब–किताबको व्यवस्थापन गरेर सम्बन्धित कर विवरण तथा सो विवरणबमोजिम कर तिर्न सक्ने आवश्यक प्रबन्ध र व्यवस्था गर्न व्यवहारिकरूपमा तत्कालै पूर्ण सक्षम हुन्छन् भन्ने अनुमान गर्ने विश्वसनीय आधार देखिँदैन ।’

सर्वोच्चले यस्तै कारण देखाई बन्दाबन्दी पूर्णरूपमा खुले पश्चात् बाटाको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.