राजस्वको आधा हिस्सा आयातबाट

रिपोर्ट नेपाल | 2022 Mar 23 | 08:33 am 1349

काठमाडाैं, चैत ९ः कुल राजस्वको झण्डै आधा वस्तु आयातमार्फत संकलन भएको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको फागुन महिनासम्मको तथ्यांकअनुसार ४८.६३ प्रतिशत राजस्व आयातबाट संकलन भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७८-०७९ को ८ महिनामा ६ खर्ब ८४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागका अनुसार यसमध्ये ३ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व आयातबाट संकलन भएको छ ।

नेपालमा उठ्ने अधिकांश राजस्व भन्सार विन्दुबाट उठ्ने भएकाले यो स्वाभाविक नै रहेको अर्थशास्त्री प्रा.डा शिवराज अधिकारीले बताए । उनका अनुसार नेपालको राजस्व आयातले थेगेको छ । “संसारका अधिकांश विकासशील मुलुकहरु अप्रत्यक्ष करमै धानिएका हुन्छन्,” उनले भने, “नेपालको राजस्वको एउटा मुख्य आधार मूल्य अभिवृद्धि कर (भ्याट) हो । भन्सारमा पनि भ्याट लिन्छौं, आन्तरिक बजारमा पनि उठाउँछौं । त्यसैले आयात र भ्याटमा हाम्रो राजस्व धानिएको छ ।”
उता आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा परेको चापलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ ।

आयातमा कडाइ गरे पनि फागुन महिनामा आयात बढेको तथ्यांकले देखाउँछ । मुलुकको समग्र अर्थतन्त्र नै बिग्रिएको अवस्थामा राजस्व घटे पनि आयातमा कडाइ गर्नुको विकल्प नरहेको अधिकारीले जनाए । “अर्थतन्त्र नै बिग्रिन थालेको समयमा राजस्व केही कम उठे पनि फरक पर्दैन,” उनले भने, “सरकारसँग खर्च गर्ने पैसा छ । अर्थतन्त्र राम्रोे भयो भने आन्तरिक ऋण लिएर पनि खर्च गर्न सकिन्छ । तर, अर्थतन्त्र नै बिग्रियो भने कुनै विकल्प रहँदैन ।”

विभागको तथ्यांक हेर्ने हो भने ८ महिनामा पेट्रोल, मटीतेल, डिजेल र एलपी ग्यासको आयातबाट मात्रै ७१ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । तर, पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा त्यसले विदेशी मुद्रा सञ्चितिमा थप चाप परेको देखिन्छ । इन्धन आयात गर्दा सरकारले फागुनसम्ममा १ खर्ब ६९ अर्ब रुपैयाँ खर्च गरेको छ । केही दिन अगाडि भारतले १६ रुपैयाँभन्दा बढीले कच्चा तेलको मूल्य वृद्धि गरेको छ । त्यसले अझै विदेशी मुद्रा सञ्चितीमा चाप पर्ने देखिएको छ ।

तातोपानी भन्सारबाट दुई अर्ब राजस्व, निर्यात शून्य
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट चालू आर्थिक वर्षको सात महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ । साउनदेखि माघ मसान्तसम्ममा दुई अर्ब चार करोड रुपैयाँ राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । ८२ करोड ६४ लाख लक्ष्य रहेकोमा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८-०७९ असार मसान्तसम्ममा एक अर्ब ६४ करोड लक्ष्य लिइएकोमा दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको भन्सार कार्यालयको भनाइ छ । गएको सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको थियो । कुनै दिन त एउटा पनि कन्टेनर नभित्रिने कार्यालयले जनाएको छ । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।

२०७२ सालको भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि तातोपानी नाका सजह रूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्यप्रायः छ । उक्त नाकाबाट तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ताचप्पल, ओखर, लेडिज सेण्डल, हाते झोलालगायत आयात हुन्छ । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.