राजसंस्थाभन्दा ठूलो रहेछ पितृसंस्था : शिवमाया तुम्बाहाङ्फे

रिपोर्ट नेपाल | 2020 Jan 20 | 06:04 pm 1259

काठमाडाैं,  माघ ६ : संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले देशमा राजसंस्थाभन्दा ठूलो पितृसंस्था रहेको बताएकी छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गरिन्।

‘मैले बाजी मारें। म सभामुख हुन्छु/हुन्न दोस्रो पाटो थियो। तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ। परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ। हामी सबै मिलेर राजसंस्था त फालियो। राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ।’

उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको पनि उल्लेख गरेकी छन्। ‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो। कुनै व्यक्ति र संस्था होइन संविधान थियो। संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन। संस्थाले दिएर के हुन्थ्यो? व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ उनले भनिन्।

उनले आजदेखि काम गर्ने बाटो परिवर्तन गरेको बताइन्। ‘आजदेखि काम गर्ने ट्याक परिवर्तन गर्दैछु,’ उनले भनिन्। तर त्यो बाटो के हो भन्नेबारे उनले पत्रकारहरूलाई आफैं खोज्न आग्रह गरिन्।

उनले आफूले बोलेको कुरा पुर्‍याएर राजीनामा दिएको बताइन्। ‘मैले जे बोलें त्यो पुर्‍याएँ। नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो। सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्गप्रशस्त गरेको थिएँ। त्यो कुरा पूरा गरेँ।’

उनले पत्रकारहरूले लेखेका समाचारबारे पनि प्रतिक्रिया दिइन्। ‘सकारात्मकभन्दा नकारात्मक समाचारले मलाई उर्जा दियो,’ उनले थपिन्।

Share

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.