राजपा ल्याउन सरकारको पहल, कमजोर हुने भयले लचिलो बन्दै

| 2018 Jun 11 | 08:10 am 1394

काठमाडौं, जेठ २८: राष्ट्रिय जनता पार्टीको प्रदेश २ को सत्ता साझेदार दल संघिय समाजवादी फोरम नेपाल सरकारमा जान हतारो गरेको अभिव्यक्ति दिएको राजपा पनि सरकारमा जान पहल गरिरहेको छ ।

संविधान संसोधनको अडान लिइरहेको राजपा बाहिर रहँदा कमजोर हुने भयले सरकारमा जान लचिलो बनेको हो । सरकारलार्इ राजपालार्इ सरकारमा ल्याउन सके प्रदेश २ मा सहज हुने आकलनसहित आवश्यक छलफल गरिरहेको छ । स।

संसद्मा विश्वासको मत दिएलगत्तै संघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सुरु भएको थियो। तर संविधान संशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए। गत साता फोरम सरकारमा सहभागी भएपछि राजपासमेत सरकारमा जान सक्ने गरी छलफलमा जुटेको छ।

‘संविधान संशोधन कहाँबाट कसरी गर्न सकिन्छ भन्ने हिसाबले नेकपा र राजपाबीच घनीभूत छलफल भइरहेको छ, राजपालाई पनि सरकारमै सामेल गराएर लैजाने ढंगले लागेका छौं,’ नेकपा अध्यक्ष पुष्पकमल दाहालले आइतबार एक कार्यक्रममा भने, ‘संसद्मा रहेका सबैजसो दललाई समेटेर विकास र समृद्धिका लागि सबै सँगै हिँड्ने वातावरण तयार गर्दैछौं।’ प्रधानमन्त्री केपी ओली र नेकपाका नेताहरूले राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसहित नेताहरूसँग कुरा गरेका छन् ।

सरकारमा सहभागिताबारे छलफल चलिरहेको ठाकुरले समेत आइतबार खुलासा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला महोत्तरी पुगेका ठाकुरले सरकारमा सहभागिताबारे सकारात्मक अभिव्यक्ति दिएका हुन्। प्रधानमन्त्री ओलीसहितका नेताहरूले औपचारिक र अनौपचारिक रूपमा सरकारमा सामेल हुन आह्वान गरिरहेको जानकारी उनले दिए । तर संविधान संशोधन हुनुपर्ने अडान आफूहरूले नछाडेको उनले प्रस्ट पारे।

फोरम सरकारमा सहभागी हुने बेला संविधान संशोधनबारे जस्तो भाषामा सहमति गरिएको छ, त्यही भाषामा सहमति गर्न नेकपा नेताहरू तयार छन्। फोरमले उठाएका मागलाई आवश्यकताका आधारमा संविधान संशोधनमार्फत समेट्ने व्यहोराको सहमति फोरम र नेकपाबीच भएको थियो। यस्तै भाषामा राजपासँग पनि छुट्टै सहमति गर्न सकिने धारणा नेकपा नेताहरूले राख्दै आएका छन्। मधेस आन्दोलनको मुख्यमध्येको दल नै विश्वास गरेर सरकारमा सामेल भएकाले राजपालाई पनि मिलेर जान प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका छन्।

राजपाभित्र सरकारमा सामेल हुने/नहुने भन्नेमा नेताहरूको दुई धार छ। ठाकुरलगायत नेताहरू सरकारप्रति सकारात्मक ढंगले अघि बढ्नुपर्ने मत राख्छन्। पछिल्लो केन्द्रीय बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने केही नेताले कुरा उठाएपछि ठाकुरलगायत नेताहरू त्यो दिशामा जान नहुने भन्दै सरकारको समर्थन यथावत् राख्ने निष्कर्षमा पुगेका थिए।
केन्द्रको समर्थन फिर्ता लिँदा प्रदेश २ मा फोरम र राजपाको गठबन्धन टुटेर नयाँ गठबन्धन बन्ने सम्भावनासमेत देखिएपछि राजपा सरकारमा सहभागी हुने विषयमा सकारात्मक बन्दै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.