काठमाडौँ, भदौ ११ः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका पुराना नेता कमल चित्रकारको प्रेरणाबाट आफू राजनीतितर्फ आकर्षित भएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजना गरेको ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो विचार व्यक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले आफू विज्ञानको विद्यार्थी भएकाले राजनीतिमा खासै चासो नराख्ने गरेको भए पनि कमल चित्रकारकै कारण आफू राजनीतितर्फ आकर्षित भएको बताए । उनले राजनीतिले मुलुकको बिग्रँदो अवस्थालाई सुधार गर्ने भएकाले आफू त्यसपछि राजनीतिमा लागेको बताए ।
सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले राजनीतिज्ञ कमल चित्रकार र वरिष्ठ पत्रकार होमनाथ दाहाललाई ताम्रपत्र, दोसल्ला र जनही २४ हजार रुपियाँ नगदबाट सम्मानित गरेका थिए । शारीरिक समस्याका कारण कांग्रेसका पुराना नेता चित्रकार आउन नसक्नु भएपछि प्रधानमन्त्री देउवाले उनकी धर्मपत्नी गङ्गा चित्रकारलाई सम्मान हस्तान्तरण गरे ।
पञ्चायती व्यवस्थामा नेपाली कांग्रेसका विचारलाई जनतासम्म पुर्याउने साप्ताहिक पत्रिका ‘राष्ट्रपुकार’ रहेको चर्चा गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा लोकतन्त्र स्थापना गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले लोकतन्त्रको संरक्षण, संम्बर्द्धन र संस्थागत विकासका लागि प्रजातान्त्रिक विचार समाज क्रियाशील रहेको चर्चा गरे । उनले युवा पुस्तालाई टिकट दिएर आगामी निर्वाचनमा उत्साहजनक वातावरण सिर्जना गर्नुपर्ने सुझाव दिए। प्रजातान्त्रिक विचारलाई विस्तार तथा संम्बर्द्धन गर्ने उद्देश्यले प्राध्यापक बीसी मल्लको अध्यक्षतामा स्थापना भएको समाजले हाल ७२ जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ । गाेरखापत्र दैनिकबाट