राजनीतिमा देउवा र पौडेल सरह रहेका हमालको राजनीतिक इतिहास बुझेको खोई ?

रिपोर्ट नेपाल | 2021 Oct 09 | 03:49 pm 12761

नेपालीमा एउटा उखान छ –‘कुप्रि बुढीलाई उठी सुख र बसी सुख ।’ किनकी शरीर कुप्रो भए पछि बस्दा पनि ढाडमा भार पर्छ, उठ्दा पनि ढाडमा भार पर्छ । यतिबेला यो उखान प्रधानमन्त्री शेरबहादुर देउवाको हकमा लागु भएको छ । गत साउनमा सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा देउवाको आलोचना गर्दै प्रश्न उठाइयो –‘नेपाली कांग्रेसमा पुराना र निष्ठावान नेताहरुलाई पाखा लगाएर नव प्रवेशी व्यापारीलाई किन मन्त्री बनाइयो ?’ शुक्रबार प्रधानमन्त्री देउवाले दुई राज्यमन्त्रीसहित १८ जनालाई मन्त्री नियुक्त गरे । यो सूचिमा प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सरहको योगदान गरेका पुराना नेता गजेन्द्र हमाल पनि परे । हमाललाई मन्त्री बनाईएपछि आफुले स्यावासी पाउने प्रधानमन्त्री देउवाले ठानेका थिए होलान । तर फेरी प्रश्न उठाइयो –‘सांसद नै नरहेका व्यक्तिलाई किन मन्त्री बनाइयो ?’ अझ एकथरीले त प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको नाम समेत जोडेर नवनियुक्त वाणिज्य तथा आपूर्ति मन्त्री हमालको आलोचाना गरेका छन् । किनकी नवनियुक्त मन्त्री हमाल नाताले प्रधानन्यायाधीश राणाका जेठान पर्दा रहेछन् । प्रधानन्यायाधीशको नातेदार मन्त्री बन्न नमिल्ने व्यवस्था संविधान तथा कानुनमा कहीँ पनि छैन । वर्तमान मन्त्रिपरिषदमा हमालले जति योगदान पुर्याएका नेताहरु अरु छँदा पनि छैनन् ।

हमाल नेवि संघका संस्थापक केन्द्रीय सदस्य हुन् । २०२७ सालमा स्थापना भएको नेवि संघका संस्थापक सदस्यहरु यतिबेला थोरै मात्रै जिवित छन् । ती थोरै जिवितमध्ये यतिबेलासम्म राजनीतिमा सक्रीय भएका प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडल, नेता चिरञ्जीवी वाग्ले र नवनियुक्त बाणिज्यमन्त्री हमाल हुन् । पंचायत व्यवस्थाको संघर्षमा लागे वापत टाउकोको मुल्य तोकिएका नेताहरुमध्ये यतिबेलासम्म राजनीतिमा सक्रीय हुने नेता सायद हमाल मात्रै बाँकी होलान ।

२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि हमाल नेपाली कांग्रेस बाँकेको सभापति बनेका थिए । उनको कार्यकाल भरी बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले चुनाव जित्यो । तर आफैले टिकटको लोभ भने गरेनन् । सँधै त्याग गर्दै आइरहेका नेता हमालको प्रभाव बाँके जिल्लामा मात्रै नभएर तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा समेत बढ्न थाल्यो । बाँकेबाटै राजनीति गर्दै आएका सुशील कोइरालाले हमाललाई आफ्नो प्रतिस्पर्धी ठान्न थाले । सभापति गिरिजाप्रसाद कोइरालाका दाहिने हात मानिने सुशील कोइरालाको कोपभाजनमा नेता हमाल परे । सुशील कोइराला जिवित रहँदा सम्म उनी छायाँमा परिरहे । देउवा सभापति बनेपछि हमालले न्याय पाउने अपेक्षा धेरैको थियो । तर देउवाले पनि लामो समयसम्म हमाललाई सम्झन सकेनन् । यस पटक भने संयोगले प्रधानमन्त्री देउवाले हमाललाई सम्झे । देउवाले किन र कसरी सम्झे ? भन्ने प्रश्नका सन्दर्भमा यतिबेला टिका टिप्पणी भइरहेको छ । प्रधानमन्त्री र प्रधानन्यायाधीशको भेटघाट भइरहनु स्वभाविकै हो । भेटघाटमा प्रधानन्यायाधीश राणाले हमालको नाम लिए होलान पनि । किनकी तपाइँहरुको पार्टीमा अन्यायमा पारिएका यस्ता मान्छे पनि छन् है भनेर सम्झाउनु कत्तिपनि अर्घेल्याँइ होइन । जसरी कोही मानिस देख्ना साथ डाक्टरले उसको स्वास्थ्य अवस्था थाहा पाउँछ । त्यसरी नै न्यायमूर्तिले पनि को अन्यायमा परेको छ, को के कति पीडित छ भन्ने कुरा थाहा पाउँछ । त्यसमा पनि आफ्ना जेठानको निराश अनुहार त प्रधानन्यायाधीश राणाले सँधै देख्ने नै भए ।

यदी हमाललाई मन्त्री बनाउनका लागि प्रधानन्यायाधीश राणाले आग्रह गरेकै रहेछन् भने पनि धेरै नै जाति भयो । एक जना पीडितले न्याय पाए । यो मामिलामा प्रधानन्यायाधीश राणाले पनि देश र जनतालाई ढाँटेका छैनन् । उनी धन्यवादका पात्र छन् । हमाललाई मन्त्री बनाउन प्रधानन्यायाधीश राणाले इच्छा व्यक्त गरेको समाचार आएपछि यही भदौ १८ गते सोमबार सर्वोच्च अदालत बार एशोसिएसनको टोली राणालाई भेट्न पुगेको थियो । अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीको टोलीले समाचारका विषयमा चासो मात्र राखेन, यदि झुटो हो भने खण्डन गर्नुपर्ने सुझाव दियो । यस्ता समाचारलाई खण्डन गर्नुपर्ने सुझावलाई ग्रहण गर्दै प्रधानन्यायाधीश राणाले भने –‘मेरो नाम जोडेर गजेन्द्र हमालको नाम आयो । गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि । उसँग मलाई जोड्न पर्छ र ! उनलाई मैले बनाउनुपर्छ र !’ ‘मैले बनाएर बन्ने हुन्छ र ?’

गैर सांसदलाई पनि बढीमा लगातार ६ महीना मन्त्री बनाउन सकिने छुट संविधानले दिएको छ । सत्ता गठवन्धनमा सामेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हमाल नेपाली कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति भएकाले अनावश्यक चर्चा गर्नु नपर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरु सँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने –‘सांसद नभएका व्यक्ति पनि मन्त्री हुनसक्ने व्यवस्था छ, उहाँ कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चा गर्नु आवश्यक छैन, संसद विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन ।’

नदुखेको कपाल डोरी लगाएर दुखाउनु हुन्न भन्ने एउटा उखान छ , तर पाँच पटक प्रधानमन्त्री भइसकेका अनुभवी नेता देउवा यो प्रकरणमा चुकेका हुन् । हमाललाई न्यायदिएकोमा स्यावासी पाउनु पर्नेमा थप आलोचनाको शिकार हुनुमा प्रधानमन्त्री देउवा स्वयंको कमजोरी हो । मन्त्रीहरुको भाग बण्डा हुँदै गर्दा नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एउटा कोटा आफ्नो पार्टीका लागि थप गर्ने लोभ देखाए । यही लोभ देखाउँदै उनले सत्ता गठवन्धनमा सामेल अन्यदलका नेताहरुसँग भने–‘गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रधानन्यायधीशबाट सुझाव आएको छ, उनलाई पनि समेट्नु पर्ने भएकोले कांग्रेसलाई सात होइन आठ मन्त्रालय चाहियो ।’ त्यतिबेला देउवाले हमाल को हुन्, उनको पृष्ठभूमी के हो , के कसरी पिडित बनिरहेका छन् ? भन्ने कुरा प्रचण्ड र माधव नेपाललाई बुझाउन आवश्यक ठानेनन् । हमाललाई राम्रो सँग नचिनेका प्रचण्ड र माधव नेपालले ‘प्रधानन्यायाधीशले आफ्ना जेठानलाई मन्त्री बनाउन खोजेका रहेछन्’ भनेर बाहिर कुरा चुहाए । यता मिडियाहरुले ‘ प्रधानन्यायाधीशले समेत मन्त्रालय बाँडफाँडमा भागबण्डा खोजेको’ भन्दै समाचार प्रवाह गरे । खास गरी एमालेका ओली निकट मिडियाहरुले यो कुरा बढी उछाले ।

प्रधानमन्त्री देउवाले हल्ला खल्ला नगरी आफ्नो पार्टीलाई प्राप्त ७ वटा कोटामध्येबाट हमाललाई मन्त्री बनाएको भए सकिइहाल्थ्यो । तर विगतमा आफ्नी सासुलाई राजदूत बनाउँदाको नजीर स्थापित गर्न खोजे । त्यतिबेला कांग्रेसको एउटा कोटा घटाएर राप्रपा मार्फत सासु प्रतिभा राणालाई देउवाले राजदूत बनाएका थिए । यतिबेला पनि देउवाले त्यही सम्झेर प्रधानन्यायाधीश राणाको दुहाई दिँदै कांग्रेसलाई एक सिट थप्ने लोभ गरे । प्रधानन्यायाधीशको नाम यस्ता प्रकरणमा जोड्दा लोकतन्त्र माथि के कति घात हुन्छ ? भन्ने ध्यान देउवाले पुर्याउन सकेनन् ।

किनकी हमाल प्रधानन्यायाधीश राणाका जेठान मात्रै होइनन् , नेपाली कांग्रेसको राजनीतिमा धेरै ठूलो योगदान हुँदाहुँदै पनि अहिलेसम्म अवसर पाउनबाट बञ्चित पुराना नेता हुन् । हमाललाई मन्त्री बनाउने सन्दर्भमा यति ठूलो माथा पच्चिसी गर्न र प्रधानन्यायाधीश राणाको नाम जोडेर कहाली लाग्दो नजीर कायम भएको सन्देश दिन जरुरी थिएन । हमाललाई आफ्नै कोटाबाट सुटुक्क मन्त्री बनाउन छाडेर प्रधानमन्त्री देउवाले थप कोटा माग्दा यो प्रकरण सार्वजनिक भएको हो । विगतमा दरवार र भारतीय दुतावासले यसरी नै कोटा माग्दा पार्टीहरु भित्रैबाट सुटुक्क व्यवस्थापन गरिएका नजीरलाई पाँच पटककसम्म प्रधानमन्त्री बनेका देउवाले ख्याल गर्न सकेनन् । यो त कोटा मागिएको घटना पनि होइन ।

तर हमाल प्रकरणमा बिवाद ल्याइनु र प्रतिपक्ष दल एमालेले बिरोध गर्नु भनेको सिसाका घरमा बसेर अर्कालाई ढुङ्गा हान्नु र आकाश तर्फ फर्केर बिरोधिलाई थुके सरह हो । दुर्भाग्यपूर्ण भए पनि मन्त्रिपरिषद बिस्तारका क्रममा प्रधानन्त्री देउवा र नेपाली कांग्रेस चुकेको देखियो । नेपाली कांग्रेसबाट हमाल सहित ८ जना मन्त्री र एक जना राज्यमन्त्री बनेका छन् । (राजनीतिक विश्लेषकबाट)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.