राजनीतिक नेतृत्व फेरिएपनि नीति फेरिनु हुँदैन : अर्थमन्त्री पुन

| 2024 Jul 05 | 01:20 pm 577

काठमाडौँ २१ असार / अर्थमन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन्।

उनले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको पनि बताए। सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने उनले विश्वास गरेका छन् ।

‘सरकारले नीतिमार्फत आफ्नो कृषि क्षेत्रलाई कसरी संरक्षण गर्ने? यति ठूलो प्रतिस्पर्धा छ। भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ,’ उनले भने।

राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरू फेरिन सक्छन्, हाम्रा नीतिहरू फेरिनु हुँदैन। नीतिगत स्थायित्व हुनुपर्छ। कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ। यसमा केही सरकारको जोड छ,’ मन्त्री पुनले भने।

चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भएपनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.