राजधानीलाई महामारीबाट जोगाउन आग्रह

रिपोर्ट नेपाल | 2020 Oct 13 | 08:03 am 1981

काठमाडौं, असाेज २७ः कोरोना संक्रमणले आक्रान्त पारेको राजधानीको भित्री शहरमा महामारी फैलने खतरा बढेको छ । भित्री शहरका एक दर्जन वडाध्यक्षले त अब यस्तै पारा हो भने राजधानीमा कोरोना महामारी फैलिने संकेत गरेका छन् ।

राजधानीका न्युरोड, असन, कमलाक्षी, भोटाहिटी, इन्द्रचोक, हनुमानढोका, नरदेवी, यट्खा, रञ्जना गल्ली, ब्रह्मटोल, लगन, जैसिदेवल, मरु, महाबौद्ध, वीर अस्पताल, टँुडिखेल, वटु, भोटेबहाल, गणबहाल, नरदेवी, भेडासिं, किलागल, ट्यागल, लगन, भुरुङखेल, सोह्रखुट्टे, ताल्सिपाखा, मरुहिटीलगायत भित्री शहरमा कोरोना संक्रमणको वृद्धि दर उच्च छ ।

कोरोना संक्रमितको संख्या बढेर अस्पतालका आईसीयू भरिभराउ छन् । बिरामी राख्ने ठाउँ छैन । कोही बिरामी परे बाँच्ने अवस्था छैन । सरकारले कोरोनालाई सामान्य ठान्दा राजधानीमा महामारी फैलिने खतरा बढेको छ । उनीहरुको अपिल छ– सरकार महामहारीबाट राजधानी जोगाऊ ।

परिवारलाई नै कोरोना संक्रमण भएका धेरै घटना छन् । त्यो भनेको समुदायमा फैलिएको संकेत हो । भित्री शहरको अवस्था हेर्दा भयावह देखिएको छ । अधिकांश पसल खुला छन् । न व्यापारीले स्वास्थ्य मापदण्ड पूरा गरेका छन्, न त ग्राहकले नै ।

सबै वडाध्यक्षले जनतामा चेतनास्तर कमी हुँदा समस्या बढेको बताएका छन् । उनीहरुले माइकिङ गरेर, ब्यानर टाँसेर जनचेतना जगाए पनि अटेर गरेको बताएका छन् । सबै वडाले मास्क वितरण, आइसोलेसनमा बसेकालाई सेनिटाइजर तथा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गरिरहेका छन् । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.