राजधानीको वायु प्रदूषणमा सुधार

| 2021 May 24 | 08:20 am 1629

काठमाडाैं, जेठ १०ः निषेधाज्ञा जारी भएको तेस्रो सातासम्म अपेक्षित सुधार नभएको राजधानीको वायु प्रदूषण पछिल्ला दिनमा सुधार देखिएको छ। पछिल्ला केही दिनमा वर्षा र हावाहुरी दुवै चलेकाले प्रदूषण छरिन पाउँदा राजधानीको प्रदूषणमा सुधार भएको हो। यसैगरी जारी निषेधाज्ञाले राजधानीको प्रदूषणका प्रमुख कारण मानिएको सवारीसाधनवाट हुने उत्सर्जनमा कमी आएको विज्ञ मान्छन्।

रत्नपार्कमा राखिएको वायु प्रदूषण मापन स्टेसनले राजधानीको वायु प्रदूषणका लागि जिम्मेवार मानिएको अत्यन्त सुण्क्ष्म कण पिएम २.५ पछिल्ला ३ दिनमा राष्ट्रिय मापदण्डभन्दा कम रहेको देखाएकोछ। वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा एकदिनमा सरदर ४० माइक्रोग्राम सुक्ष्म कण रहेमा स्वच्छ वायु भनेर नेपालले परिभाषा गरेको छ। रत्नपार्कमा गत बुधबार राति १० बजे पिएम २.५ को स्तर ७१ अंक उक्लेको थियो तर त्यसपछि यो लगातार घट्दो क्रममा छ।। रत्नपार्कमा आइतबार ३ बजे पिएम २.५ को स्तर १० अंक भन्दा कम छ।

काठमाडौं उपत्यकामा राखिएका अन्य वायु प्रदूषण मापन स्टेसनले पनि वायु प्रदूषणको स्तरमा उल्लेख्य सुधार आएको देखाएका छन्। राजधानीको प्रदूषणका लागि गाडीहरूबाट निस्कने उत्सर्जन, कलकारखाना विशेषगरी इँटा उद्योगबाट निस्कने धुँवा, सडक धुलो, घरबाहिर जलाइने फोहोरलगायतका कारक मानिँदै आएकोछ। स्थानीय कारणसँगसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य बाली खेतमा डढाउँदा निस्कने उत्सर्जन सहितको प्रदूषित हावाको वहाब राजधानी खाल्डोमा आउदा प्रदुषण बढ्ने गर्दछ। यसैगरी नेपालमा प्रदूषणका लागि किर्गिस्तान, अफगानिस्तान, पाकिस्तान तथा भारत हुँदै आउने प्रदूषित हावा पनि जिम्मेवार मानिन्छ।

पछिल्ला दिनमा उपत्यकाका मात्र होइन, देशका अन्य स्थानमा राखिएको स्टेसनले पनि वायु प्रदूषणको तहमा निकै सुधार भएको देखाएका छन्। वन तथा वातारण मन्त्रालयअन्तर्गतको वातावरण विभागले दाङ, लुम्बिनी, हेटौडा, भरतपुर, पोखरा, सिमरा, जनकपुर, विराटनगर, धनकुटालगायतका स्थानमा राखेको प्रदूषण मापन स्टेसनले पनि पिएम २.५ को स्तर राष्ट्रिय मापदण्डभित्रै रहेको र जनस्वास्थ्यका लागि हानिकारक नरहेको देखाएका छन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.