काठमाडाैं, पुस १७ः शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि संघीय राजधानीमा जनप्रदर्शन गरेकाे छ ।
काठमाडाैँकाे भृकुटीमण्डपबाट निकालिएकाे र्याली भद्रकाली, वीर हस्पिटल हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत गरिएकाे छ ।
राप्रपाले राजधानीको शान्तिबाटिकामा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्रवादीहरूले मुलुक ठिक ढंगबाट अगाडि बढाउन नसकेकाले अबको विकल्प राजतन्त्रसहितको हिन्दु राष्ट्र रहेको बताए।
थापाले ‘जनता- राजा मिलेर देश बचाऊ’ भन्दै नारा लगाएका थिए। राजतन्त्र पुन: स्थापना गर्न राप्रपा सडकमा आएको बताउँदै थापाले भने, ‘हामी कुनै रहर, काम नपाएर, घाम ताप्न सडकमा आएका होइनौं। हाम्रो देश, हाम्रो मातृभूमि नेपाल इतिहासकै कठिन घडीमा संकटबाट गुज्रिरहेको छ।’
संकटबाट मुक्तिका लागि नयाँ ढंगबाट अगाडि बढ्न सबै दललाई आग्रह गर्दै थापाले संघीयता, गणतन्त्र र धर्मनिरपक्षेताकाे १४ वर्षे पाठ सिकेर सबै शक्ति अटाउन सक्ने राजनीतिक प्रणाली विकास गर्नुपर्ने बताए।
उनले निरंकुश राजतन्त्रकाे नभई परिवर्तनकारी शक्ति र गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने राजतन्त्र कायम हुनुपर्ने बताए। थापाले भने, ‘राजसंस्था कायम हुँदैमा तपाईँले आत्तिनुपर्ने वा विचलित हुनुपर्ने कारण छैन।’
निषेधकाे राजनीति गरिएमा देशमा दिगाे शान्ति कायम नहुने उनकाे दाबी छ। थापाले भने ‘अब निषेधकाे राजनीति हाेइन साझा व्यवस्थाकाे निर्माण गराैं,’।