नयाँदिल्ली, असार १: जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ। श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय बुखारीमाथि गोली प्रहार भएको हो ।
जम्मु–कश्मीरका डीजीपी एसपी वैदका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारी र उनका निजी सुरक्षा अधिकृतको मृत्यु भएको हो। अर्का एक व्यक्ति घाइते छन्।
जम्मु–कश्मीरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन्। उनले ट्वीटमा भनेकी छन्, ‘सुजात बुखारीको हत्या आतंकवादको जघन्य कार्य हो, इदको पूर्वसन्ध्यामा यो आक्रमण गरिएको छ । शान्ति बहालीलाई असफल पार्ने प्रयासविरुद्ध हामी एकजुट हुनु जरुरी छ।’ भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि बुखारीमाथिको आक्रमण कायरतापूर्ण कार्य भन्दै भत्र्सना गरेका छन् । कंग्रेस अध्यक्ष राहुल गान्धीले पनि हत्याप्रति दु:ख व्यक्त गरेका छन्।
सम्पादक बुखारीमाथि सन् २००० मा पनि आक्रमण भएको थियो। त्यसयता उनलाई राज्यले प्रहरी सुरक्षा उपलब्ध गराएको थियो। कश्मीरमा शान्ति बहालीका लागि उनी लामो समयदेखि सक्रिय थिए । उनले आफ्नो अन्तिम ट्वीटमा भनेका थिए, ‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे भइरहेको छ, हामी त्यसलाई जनसमक्ष ल्याई नै रहनेछौं।’