राँचुलीका बेपत्ता १५ मध्य १३ जनाको शव फेला, २ को खोजीकार्य जारी

रिपोर्ट नेपाल | 2022 Oct 10 | 06:23 pm 1341

कालिकाेट, असोज २४ः कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्तामध्ये १३ जनाको शव फेला परेको छ । मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए ।

कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा खोलामा ठूलो पहिरो आएपछि मलामी गएकाहरू बेपत्ता भएका थिए । कालिकोट प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दबहादुर रावतको नेतृत्वमा उद्धारमा खटिएका टोलीले २ दिनपछि मात्रै १३ जनाको शव सोमबार फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता शुवराज वमका अनुसार अझै २ जनाको खोजीकार्य जारी रहेको छ । प्रतिकूल मौसम र वर्षाले गर्दा कर्णाली राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा खोजीकार्यमा समस्या आएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज फेला परेको शवमध्ये नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित तिलागुफा नगरपालिका वडा नंः ४ का वडा अध्यक्ष परवहादुर शाही, र सोही वडाका ६३  वर्षीय धनबहादुर शाही, ३६ वर्षीया छत्रबहादुर शाही, २८ वर्षीय खगेन्द्रबहादुर शाही, २३ वर्षीय भेषवहादुर शाही, ५५ वर्षीय  धनबहादुर शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भानबहादुर शाही, ४१ वर्षीय मोतीलाल शाही, २४ वर्षीय नरेशबहादुर शाही, र २३ वर्षका प्रशान्त शाही रहेका छन् । मृतक सबै वडा ४ राँचुलीकै हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.