रहेनन् २०१५ का प्रतिपक्ष नेता- दाहसंस्कार नगर्न भनेकाले शव अस्पतालमा बुझाइयाे

| 2018 Aug 11 | 06:22 pm 4252

काठमाडौं, साउन २६: २०१५ सालको आम निर्वाचनको मत परिणामपछि प्रमुख प्रतिपक्ष दल गोरखा परिषद्का तत्कालिन सांसद भरत शमशेर राणाको निधन भएको छ । राणा नेपालको पहिलो संसदको विपक्षी दलका नेता रहेका थिए ।

गएराति भारतको कलकत्ता स्थित आफ्नै निवासमा ९० वर्षीय राणाको निधन भएको पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले बताए ।राणाका अनुसार उनको सुतेको अवस्थामा नै निधन भएको बताइएको छ ।

नेपाल गोरखा परिषद्का संस्थापक महासचिव राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय राणाले जिवित रहँदा आफ्नो मृत्यु पश्चात् शव नजलाउनु भने बमोजिम परिवारले उनको शव अस्पताल बुझाइने भएको छ । परिवारका अनुसार राणाले आफ्नो शव नजलाउन छोराछोरीलाई भनेका थिए ।

उनले दाहसंस्कारमा आफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छोराछोरीलाई पत्रमार्फत आग्रह गरेका थिए । उनको शव कलकत्ताको अस्पताललाई बुझाइने भएको छ ।

२०१७ सालको विपी कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकालाई तत्कालिन राजा महेन्द्रले ‘कु’ गरेपछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शमशेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए । भरत शमशेरका भाइ सागर शमशेर जबरा नेपाली कांग्रेसका पुराना नेता हुन् ।

राणा पछिल्लो समय राजनीति भन्दा लेखनमा सक्रिय छन् भने उनका भतिजा उदय शमशेर राणा कांग्रेसको सक्रिय  राजनीतिमा क्रियाशिल  छन् । उनी नेपाल तरूण दलकाे अध्यक्ष हुँदै अर्थराज्यमन्त्री भइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.