रसुवाबाट निर्यात सुरु

| 2022 Dec 28 | 07:44 am 1065

काठमाडौँ, पुस १३ः लामो समयदेखि बन्द रहेको उत्तरी नाका रसुवाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो ।

रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिए । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उनले बताए । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको जानकारी उनले दिए  ।

मङ्गलबार बाँसको मुढा, तामाका भाँडालगायतका सजावटका सामान चीनतर्फ निर्यात भएको कार्यालयले जनाएको छ । रसुवा नाकाबाट नियमित रूपमा सामान भने आयात भइरहेको थियो । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा चीनबाट ९४ अर्ब ५८ करोड ११ लाख  छ हजार रुपियाँको सामान आयात भएकोमा २४ करोड ४७ लाख  २७ हजार रुपियाँको सामान निर्यात भएको छ । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.