काठमाडौं, फागुन २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका काम असाधारण तथा बिर्सन नसकिने खालको रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आयोजना गरेको श्रदाञ्जलि सभामा बोल्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रूपमा उत्कृष्ट काम गरेको बताए।
‘एक वर्षको बीचमा असाधारण कामहरु भएका छन् । हुन त अहिलेको समय आलोचना र टिप्पणी गर्न रुचाउने समय छ । केही पनि भएन । हुँदै भएन । कतै केही भएन भन्ने छँदैछ । यो त मान्छेको बानी नै बनेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्र अधिकारी एक वर्ष मन्त्री हुनुभयो । एक वर्ष मन्त्री पाउँदा बिर्सन नसक्ने कामहरु गर्नुभयो, कसैले उपेक्षा गर्नै नसक्नेगरी छोडेर जानुभयो । संस्कृति, पर्यटन नागरिक उड्यनको क्षेत्रमा, उहाँको कामको तीव्रता, उहाँका योजनाहरु असाधारण छन ।’
उनले सोही हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका व्यवसायी आङछिरिङ शेर्पाले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गरे । ‘दिवङ्गत हुनुभएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकको समृद्धिको पक्षमा निष्ठापूर्वक काम गर्नु थियो’ उनको भनाई थियो ।