काठमाडौँ, २ पुष / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले आज (पुस २ गते) अन्तिमपटक हिरासत म्याद थप्दै छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार आठौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदैछ।
यसअघि सातौँपटक मंसिर १७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परे पनि उनका व्यावसायिक साझेदार गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए।
६१ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको सम्भवतः आज अन्तिम पटक म्याद थपिने छ। जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछाने संलग्न भनिएको सूर्यदर्शन सहकारीको अनियमिततासम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ।