रक्षामन्त्री म्याटिसलार्इ पदमुक्त गर्दै राष्ट्रपति ट्रम्प

रिपोर्ट नेपाल | 2018 Oct 15 | 07:24 am 1717

वासिङ्टन, असोज २८: अमेरिकी रक्षामन्त्री जिम म्याटिसलाई ‘डिमोक्र्याट जस्तो’ भन्दै उनलाई उक्त जिम्मेवारीबाट बिदा दिन सकिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन्।

म्याटिसलाई राष्ट्रपति ट्रम्पको मन्त्रीपरिषद्को केही स्थिर तथा स्वतन्त्र सदस्यहरूमध्ये एक सदस्यका रूपमा लिने गरिन्थ्यो। अमेरिकी पत्रिका सीबीएसलाई दिएको अर्न्तवार्तामा ‘के राष्ट्रपति म्याटिसलाई बिदा गर्न चाहनुभएको छ?’ भन्ने प्रश्‍नको जवाफमा ट्रम्पले ‘उहाँलाई बिदा गर्न सकिने सम्भावना बलियो रहेको’ बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, “मेरो विचारमा उहाँ डेमोक्रेटजस्तो हुनुहुन्छ त्यसैले उहाँले बिदा लिन पनि सक्नुहुन्छ ।”

“यद्यपि जनरल म्याटिस असल व्यक्ति हो । हामी सँगसँगै र राम्रो सम्बन्धका साथ काम गर्‍यौँ । उहाँले छोड्न सक्नुहुन्छ । मतलव कुनै विन्दुमा सबैले छाड्नुपर्छ ।”

आफुले अवकाश प्राप्त जनरल म्याटिसलाई दुई दिन पहिले भेटेको बताउँदै उक्त अवसरमा भने उनलाई बिदा दिने बिषयमा कुनै कुराकानी नभएको ट्रम्पको टिप्पणी थियो ।

ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतबाट निक्की हेलीको राजिनामापछि आफ्नो मन्त्रीमण्डलमा केही परिवर्तन गर्न चाहेको बताएका थिए।

उनले भने, “मैले परिवर्तन चाहन्छु । यो मेरो अधिकारको कुरा पनि हो । मसँग अहिले धेरै असाधारण व्यक्तिहरू प्रशासनमा आउन आतुर छन्। उनीहरूले अमेरिकी नागरिकको हितमा असाधारण काम गरेर देखाउने छन् ।”

“हामीसँग मन्त्रीमण्डलका उत्कृष्ट सदस्यहरू छन् तर केहीको कामप्रति म खुसी छैन उनीहरूको सट्टामा अन्य राम्रा व्यक्तिले मौका पाउन सक्छन् ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.