यो निर्वाचन गठबन्धनका लागि मौका हो : प्रधानमन्त्री देउवा

रिपोर्ट नेपाल | 2022 Oct 16 | 04:01 pm 1185

काठमाडौं, असाेज ३०: प्रधानमन्त्री शेरबहादुर देउवाले एकल पार्टीको बहुमत नआउने भएरै गठबन्धन गर्नुपरेको बताएका छन्। काठमाडौंमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा उनले गठबन्धन गरेर चुनाव लड्ने संस्कृतिको विकाससमेत भएको बताए।

उनले गठबन्धन गरेर अगाडि बढ्दा लोकतन्त्रको सुरक्षा र देश विकास गर्न पनि सहजता हुने बताए। त्यसैले यो निर्वाचन गठबन्धनका लागि मौका र चुनौती दुवै भएको उनको भनाइ छ।

‘प्रजातन्त्र र लोकतन्त्रलाई स्थायित्व गर्न गठबन्धन बनेको हो। कुनै पनि पार्टीको बहुमत आउन सक्दैन। त्यही भएर पनि गठबन्धन बनाएका हौं,’ उनले भने, ‘मिलेर चुनाव लड्दा लोकतन्त्रको सुरक्षा गर्न पनि सकिन्छ। मिलेर देश विकास गर्न सकिन्छ। यो निर्वाचन गठबन्धनका लागि मौका र चुनौती दुवै छ। यसलाई हामी सामाना गर्नुपर्छ।’

काठमाडौं क्षेत्र नं २ बाट गठबन्धनका उम्मेदवार बनेकी पूर्वसभामुख ओनसरी घर्तिमगरको तारिफ गर्दै देउवाले कुशलताका साथ संसद सञ्चालन गरेको बताए। उनले ओनसरीलाई साहसी महिलाको रुपमा ब्याख्यासमेत गरे। ‘ओनसरीजी साहसी महिला हुनुहुन्छ। सभामुख हुँदा कुशलताका साथ कार्यकाल निभाउनुभयो। संसदलाई सञ्चालन गर्नुभयो। उहाँले पार्टीको आदेशभन्दा पनि राष्ट्रको हित हेर्नुभयो,’ उनले भने।

उनले गठबन्धनले विजयको झन्डा यही क्षेत्रबाट फहराउनुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.