योजना र बजेट पार्न सरकारलाई ‘घुस’

| 2020 Nov 09 | 08:53 am 1975

सुर्खेत, कात्तिक २४ः कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित गावखोला–लाम्पाटा सिँचाइ कुलो निर्माणका लागि कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४५ लाख रुपैयाँ बजेट छुट्यायो। अतिगरिब परिवारलाई न्यूनतम रोजगारी दिने उद्देश्य राखिएको कार्यक्रमअन्तर्गत सिँचाइ कुलो निर्माण योजना र बजेट पार्न उपभोक्ता समितिले प्रदेश सरकारलाई ‘घुस’ दिएको पाइएको छ।

सिँचाइ कुलो निर्माणमा अनियमितता भएको समाचार प्रकाशित भएपछि गठन भएको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा स्थानीय जनक देवकोटामार्फत प्रदेश सरकारलाई तीन लाख रुपैयाँ दिएको उल्लेख छ। वडासदस्य मनराज देवकोटाको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनको बुँदा नम्बर ६ मा जनक देवकोटामार्फत तीन लाख रुपैयाँ प्रदेश सरकारलाई उपलब्ध गराएको लेखिएको छ। जनकले प्रदेश सरकारका कसलाई उक्त रकम दिए भन्नेचाहिँ किटान गरिएको छैन। छानबिन समितिलाई जनकले दिएको बयानमा तीन लाख रुपैयाँमध्ये एक लाख ५० हजार प्रदेश सरकारलाई बुझाएको र थप बुझाउन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। जनक तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार थिए।

नागरिकले गरेको सम्पर्कमा जनकले आफूले सिमेन्ट दिएबापतको रकम उपभोक्ता समितिमार्फत लिएको दाबी गरे। ‘छानबिन समितिको माइन्युटमा के लेखिएको छ थाहा भएन्,’ उनले भने, ‘मैले सिमेन्ट दिएबापतको मात्रै रकम लिएको हुँ, प्रदेश सरकारलाई दिएको छैन।’

छानबिन समितिका संयोजक मनराजका अनुसार जनकले प्रदेश सरकारबाट आफूले भनसुन गरी सिँचाइ कुलो योजना र बजेट पारेकाले त्यसबापत तीन लाख रुपैयाँ सरकारलाई दिएको बयान दिएका छन्। ‘गाउँमा विरोध भएपछि उनले एक लाख रुपैयाँ फिर्ता गर्ने बताएका छन्, अहिलेसम्म दिएका भने छैनन्,’ मनराजले भने, ‘जनकले प्रदेश सरकारका कुन व्यक्तिलाई उक्त रुपैयाँ दिएको भन्ने खुलाएका छैनन्।’मनराजका अनुसार सिँचाइ कुलोमा एक दिन पनि काम नगरेका जनकले ३८ दिनको २८ हजार पाँच सय रुपैयाँ पनि भुक्तानी लिएका छन्।

छानबिन समितिले सिँचाइ कुलो निर्माणका क्रममा नक्कली हाजिर लगाएर तीन लाख ८२ हजार २५० र जनकले प्रदेश सरकारलाई दिएकोसहित छ लाख ८२ हजार २५० रुपैयाँ दुरुपयोग भएको निष्कर्ष निकालेको छ। उक्त रकम असुली गर्नुपर्ने समितिको निष्कर्ष छ। समितिको प्रतिवेदनमा नक्कली हाजिर लगाएर भुक्तानी लिएका विद्याज्योति माविका प्रधानाध्यापक मानप्रसाद देवकोटा र उनका आफन्तबाट ६३ हजार ७५०, भद्रप्रसाद देवकोटाबाट १९ हजार ५००, चरित्र देवकोटाबाट ३९ हजार, जग्य देवकोटाबाट ४७ हजार २५०, बलिराम देवकोटाबाट १२ हजार, नवराज देवकोटाबाट १२ हजार, अति देवकोटाबाट २४ हजार, सदी देवकोटाबाट २४ हजार, देवसन्न देवकोटाबाट ७ हजार ५००, भीम देवकोटाबाट ७ हजार ५००, भवनराज देवकोटाबाट ७ हजार ५००, हरिलाल देवकोटाबाट ११ हजार २५०, लक्ष्मीप्रसाद देवकोटाबाट ६ हजार ७५० रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.