योग्यता नपुगेका व्यक्तिले बेच्छन् औषधि

| 2023 Dec 11 | 08:34 am 485

कैलाली, मंसिर २५ ।  कैलालीमा कतिपय औषधि पसलमा योग्यता नपुगेका व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागको नेपालगन्ज कार्यालयले गरेको अनुगमनका क्रममा औषधि पसल इजाजतविना सञ्चालन भएका र योग्यता नपुगेका व्यक्तिले औषधि बिक्री गर्ने गरेको पाइएको हो ।

१६ वटा औषधि पसलको अनुगमन गरिएकोमा धेरैजसो पसलमा औषधि ऐनले तोकेको योग्यता नपुगेका व्यक्तिले औषधि बिक्री गरिरहेको पाइएको विभागले जनाएको छ । त्यस्ता पसललाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको विभागको नेपालगन्ज कार्यालयका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले बताए । ‘ऐनले औषधि बिक्रीको योग्यता ओरेन्टेसन गरेको फर्मासिस्ट वा सहायक फर्मासिस्ट भनेको छ, तर धेरैजसो मेडिकलमा पारामेडिकल र सिएमए पढेकाले औषधि बिक्री गर्ने गरेको पाइयो,’ उनले भने, ‘यसले औषधिको अनुचित प्रयोग र दुरुपयोग हुन सक्छ ।’ त्यस्तै, इजाजतविना र योग्यता नपुगेका व्यक्तिले औषधि पसल सञ्चालन गरिरहेको पाइएको विभागले जनाएको छ ।

विभागको टोलीले तीनवटा मेडिकल सिल गर्नुका साथै तीनवटा मेडिकलबाट औषधि जफत गरेको छ । इजाजतविना औषधि पसल सञ्चालन गर्ने एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको शाहले जानकारी दिए । बर्दगोरिया गाउँपालिका– ३ खैरेनीमा इजाजतविना औषधि पसल सञ्चालन गर्दै आएका तापस लस्कर पक्राउ परेका हुन् । उनलाई प्रहरीको हिरासतमा राखेर आवश्यक कारबाही अगाडि बढाइएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

त्यस्तै, इजाजतविना गौरीगंगा नगरपालिका– १ मा सञ्चालनमा रहेको मान्श्री आयुर्वेद र श्रीवास्तव मेडिकल सिल गरिएको शाहले जानकारी दिए । सर्जिकलको अनुमति लिएर औषधि बिक्री गरेको पाइएपछि अत्तरियामा रहेको श्रीजी सप्लायर्स पनि सिल गरिएको विभागले जनाएको छ ।धनगढी उपमहानगरपालिका– ७ मा सिएमए पढेका व्यक्तिले सञ्चालन गरेको भैरव क्लिनिकबाट सबै औषधि अनुगमन टोलीले जफत गरेको छ ।

होमियोपेथिकमा दर्ता गरी एलोपेथिक औषधि बिक्री गरेको पाइएपछि धनगढी– ७ कै जेसी होमियो मेडिकलबाट पनि सबै औषधि जफत गरिएको फार्मेसी निरीक्षक शाहले जानकारी दिए ।अनुगमनका क्रममा औषधि बिक्रीमा गम्भीर लापरबाही हुने गरेको देखिएको उनले बताए । ‘धेरैजसो मेडिकलमा औषधि बिक्रीका लागि योग्यता पुगेका व्यक्ति नबस्ने, दर्ता नभएका औषधि बिक्री गर्ने र नियमित बिक्रीको बिल नराख्ने गरेको पाइएको छ,’ शाहले भने, ‘त्यस्ता मेडिकललाई कारबाहीको प्रक्रियामा जान्छौँ ।’ विभागको टोलीले १६ देखि २३ मंसिरसम्म कैलालीका १६ वटा औषधि पसलमा अनुगमन गरेको छ ।

( नयाँपत्रिकाबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.