काठमाडौं, वैशाख २: मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ। खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भएको थियो।
९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो। नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे।
पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।
अबका खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालका लागि यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ। यूएई अहिलेसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ। आजै भएको कुवेतविरुद्धको खेलमा यूएईले ७ विकेटको जित निकाल्यो।
चौथो खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ ।