काठमाडौं, जेठ १८: आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली छनोटका लागि नेपाली टोली मलेसिया जाने भएको छ। नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बिदाइ गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ।
नेपालले कीर्तिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ। स्नेहा महरा उपकप्तान छिन् भने टोलीमा सृष्टि जैशी, मनिषा उपाध्याय, मनिषा रानामगर, अलिशा यादव, साना प्रविन, रञ्जु श्रेष्ठ, आश्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अञ्जली बिक, अनु कडायत र सुस्मिता भुसाल छन्।
बिदाइपछि नेपाली टोलीकी कप्तान कीर्तिका मरासिनीले छनोट प्रतियोगितामा शीर्ष स्थान हात पार्दै विश्वकपमा स्थान बनाउने लक्ष्य रहेको बताइन्। ‘हामीले राम्रो तयारी गरेका छौं। टिम पनि सेट छ’, उनले भनिन्, ‘राम्रो खेलेर विश्वकपमा छनोट हुने लक्ष्य राखेका छौं।’
एक महिना लामो तयारी गरेकाले टोलीले राम्रो नतिजा निकाल्ने मुख्य प्रशिक्षक महेश रिजालले बताए। ‘प्रतियोगिताका लागि एक महिना तयारी गरेका छौं। मेहनत अनुसार नतिजा पनि राम्रो हुनेमा आशावादी छौं’, मुख्य प्रशिक्षक रिजालले भने, शीर्ष स्थानमा रहँदै छनोट हुने लक्ष्य छ।’ मलेसियामा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालसहित, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार छन्।
नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्नेछ। यस्तै जुन ४ मा यूएई, जुन ६ मा भुटान, जुन ७ मा थाइल्यान्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ। शीर्ष स्थानमा रहने टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने यू–१९ टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्नेछ। अन्नपूर्ण पाेस्ट अनलाइनबाट