‘यूपीएफ’बारे नेकपाको बैठकमा चर्काचर्की

| 2018 Dec 23 | 04:51 pm 1328

काठमाडौँ, पुस ८ :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’लाई लिएर चर्को बहस भएको छ ।

सम्मेलनमा सरकारको सहभागितालाई लिएर नेताहरुले चर्को आलोचना गरेपछि आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् । राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा युनिफिकेशन पिस फेडेरेशन सम्मेलन र सरकारको सहभागितालाई लिएर नेताहरूले चर्को आलोचना गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका हुन् ।

नेता नेपालले युनिफिकेशन पिस फेडेरेशन नराम्रो संस्था नभएको, सम्मेलनले नेपाललाई कुनै नराम्रो नगरेको, आफू उसको कार्यक्रममा ६ पटक मात्र सहभागी भएको स्पष्टीकरण दिएका थिए ।नेता नेपालको स्पष्टीकरणमाथि आपत्ति जनाउँदै नेता नारायणकाजी श्रेष्ठ,भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्त, अग्नी सापकोटा लगायतले एकपछि अर्को गर्दै नेपालमाथि प्रश्न तेर्स्याएका थिए।

पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठले सन् २०१२ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एकनाथ ढकालको यस्तै कार्यक्रम गर्ने प्रस्ताव आएको तर, आफूले त्यसको विरोध गरेको स्मरण गराउँदै भने- ‘मैले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुबैलाई यसबारे सचेत गराएको थिएँ र प्रधानमन्त्री ओलीलाई भेटेरै तपाईँ फस्दै हुनुहुन्छ समेत भनेको थिएँ।’

बैठकमा अधिकांश नेताहरूले युनिभर्सल पिस फेडेरेसन जस्तो बदनाम सङ्गठनमा सरकारको संलग्नताले सरकारको छवि धुमिल भएको र सहभागिता नै गलत भएको आरोप लगाएका थिए । करिब एक घण्टा आरोप प्रत्यारोपमै केन्द्रित स्थायी समिति बैठक अपरान्ह चार बजे बस्ने गरी तत्काललाई स्थगित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.