युवालाई क्षमताअनुसारको काम दिन्छौँ: मुख्यमन्त्री शाही

रिपोर्ट नेपाल | 2018 Jun 26 | 06:14 pm 3866

सुर्खेत, १२ असार : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँका युवालाई क्षमताअनुसारका काम दिने बताउएका छन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले भने, “युवा बेरोजगार संख्या बढ्दो छ । बेरोजगारकै कारण युवा लागुऔषध दुव्र्यसनीमा फस्दा सरकारलाई झनै ठूलो चुनौती थपिएको छ ।”

सम्पूर्ण युवाको तथ्याङ्क संकलन गरी उनीहरुको सीप तथा क्षमताका आधारमा काम दिने प्रदेश सरकारले नीति ल्याएको उनले बताए ।“कर्णाली प्रदेशका युवाको श्रम सीपलाई उत्पादनसँग जोड्न १० वटै जिल्लामा युवाका लागि तालीम केन्द्र खोल्ने र उनीहरुको रुचीअनुसारको सीप दिएर तन्दुरुस्त र दख्खल बनाउँछौँ”, उनले भने। लागुऔषध दुव्र्यसनीमा फसेका युवाको जीवन रुपान्तरणका लागि सुधार गृह स्थापना गर्ने योजना रहेको उनकाे भनाइ छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विश्वमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह अवस्थामा रहेको औँल्याउए । समाजमा दुस्परिणाम ल्याउने लागुऔषधको कारोवार र अवैध ओसारपसार रोक्न यसलाई कर्णाली प्रदेश सरकारले कार्यसूचीको अग्रभागमा राख्ने कानूनमन्त्री भण्डारीले प्रतिबद्धता गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.