युक्रेनमा हेलिकोप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jan 18 | 06:14 pm 245

किएभ, माघ ४ः राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक आज (बुधबार) भएको हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिकाकाे पनि मृत्यु भएकाे अधिकारीहरूले बताएका छन् ।

अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । दुर्घटनाका सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृहमन्त्रालयका कैयौँ उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ ।

बयालीस वर्षीय गृहमन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुन् । उनी दुई वर्षअघि गृहमन्त्री नियुक्त भएको थियो । दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.