युएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकपमा छनोटमा

| 2023 Mar 16 | 06:17 pm 1173

काठमाडौं, चैत २ः आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा नाै रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाउँदा खेल रोकिएको थियो ।

कमजोर प्रकाशका कारण खेल डकवर्थ लेविस (डीएल) मेथोडको आधारमा नेपालले खेल जितेको हो। अम्पायरले खेल रोक्दै नेपाललाई विजेता घोषित  गरेपछि युएईका खेलाडीले भने असन्तुष्ट जनाएका थिए । त्यसपछि नेपाली खेलाडीले खुसीयाली मनाएका थिए ।

सुरुवातमा बलिङमा कमजोर प्रदर्शन गरेको नेपाल ब्याटिङमा पनि राम्रो खेल्यो । जितका लागि विशाल योगफल पछ्याएको नेपालका लागि भिम सार्कीले ६७ रनको अर्धशतकीय पारी खेले । उनले ७६ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाए।

आरिफ शेखले ५२ तथा ओपनर कुशल भुर्तेलले पनि ५० रनको अर्धशतकीय पारी खेले । शेखले ६२ बलमा दुई चौकाको सहयोगमा उक्त रन जोडे । ३५ बलको सामना गर्नुभएका भुर्तेलले तीन चौका र चार छक्का हान्नुभएको थियो । यस्तै, गुल्सन झाले अविजित ५०, कप्तान रोहित पौडेलले १६ र दीपेन्द्र सिंह ऐरीले १० रन बनाए।

बलिङमा युएईका जुनईद सिद्धिकीले तीन विकेट लिए । आयान अफ्जल खानले दुई तथा जाहोर खानले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रनको विशाल योगफल बनाएको थियो ।

युएईका लागि आशिफ खानले एक सय एक रनको शतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र ११ छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै वृत्य अरविन्दले ९४ रन बनाउनुभयो । कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।

जितसँगै नेपालले आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । नेपालले घरेलु सिरिजमा क्लीन स्वीप गरेको छ । नेपाल लिगको सबै ३६ खेलबाट ४० अंक जोड्दै तेस्रो भयो । समान खेलबाट ३३ अंक बनाएको युएई छैटौं स्थानमा रह्यो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) ११ अंक जोड्दै अन्तिममा रह्यो । नेपालको जितले ३९ अंक बनाएको नामिबियाले चौथो स्थानमा झरेको छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले यसअघि नै जिम्बावेले यात्रा तय गरिसकेका छन् । लिगमा ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा रहेको छ ।

लिगको अन्तिम चारमा रहेका टोलीले अब यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर  खेल्नेछन् ।  प्लेअफ क्वालिफायरमा लिग–२ को अन्तिम चारमा रहेका युएई, अमेरिका, नामिबिया र पीएनजीसहित आईसीसी च्यालेन्ज लिग समूह ‘बी’ को विजेता जर्सी र ‘ए’ को विजेता क्यानडागरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।  यी ६ टोलीबाट शीर्ष दुईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।

यस्तै जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा विश्वकप छनोटमा सुपर लिग–२ को अन्तिममा रहेका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली रहनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीलेसुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली गमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय  विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.