यार्साले लियो आठको ज्यान

रिपोर्ट नेपाल | 2019 Jun 06 | 11:48 am 2173

डोल्पा, जेठ २३:  डोल्पाको पाटनमा यार्सा सङ्कलकन गर्न गएका आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये प्राय सबैको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको हो ।

यार्सा सङ्कलनको क्रममा मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति रहेका छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो गाउँपालिकाको लामाडाँडामा लेक लागेर मृत्यु भएको छ ।

यस्तै जुम्ला गोठीचौर गाउँपालिका–४ का ४४ वर्षीय जयकृष्ण पाण्डे जेठ १० मा कागमारास्थित लेकमा भीरबाट लडेर मृत्यु भएको थियो ।

डोल्पा ठूलीभेरी नगरपालिका–११ की ३८ वर्षीया बुद्धीकुमारी कार्कीको जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर निधन भएको थियो । त्यस्तै शे–फोक्सुण्डो गाउँपालिकाको प्यारीकोप्कामा जाजरकोटका बारेकोट गाउँपालिका–६ का २२ वर्षीय रमेश चलाउनेको जेठ १७ गते लेक लागेर मृत्यु भएको थियो भने जाजरकोटकै बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकको जेठ १८ गते लेक लागेर मृत्यु भएको थियो ।

त्यस्तै रुकुमपश्चिम आठबिसकोट नगरपालिका–९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको डोल्पोबुद्ध गाउँपालिकाको ताक्सीलेकमा जेठ २० गते लेक लागेर मृत्यु भएको थियो । जेठ १९ मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका–५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भएको थियो । यस्तै जेठ २० गते काइके गाउँपालिकाको व्यासरिखीमा कान्छी विकको नवजात शिशुको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

संचारको पहुँच नभएका कारण के–कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको प्रहरीले जनाएको छ । सदरमुकाम दुनैभन्दा कयौँ टाढा रहेका उच्च हिमालमा यार्सा सङ्कलन हुने भएकाले खबर आदानप्रदान गर्न समस्या भएको हो । यार्सा सङ्कलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएका भए पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।

आधा दर्जन बढी घाइते र बिरामी भएर उपचार भइरहेको छ । डोल्पाका ७० भन्दा बढी पाटनमा अहिले यार्सागुम्बा सङ्कलनको काम भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.