बैतडी, मङ्सिर १८ : ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।
सवारीसाधन सञ्चालकले नियमविपरीत जिपमा पछाडि सिट थपेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लामा चल्ने ८० भन्दा बढी जिपका सिट झिक्न लगाएको थियो । यसअघि बोलेरो जिपले १५ जनासम्म यात्रु बोक्ने गरेकामा अहिले पाँच जना मात्र बोक्नुपर्ने बाध्यता छ ।
एउटा जिपमा पाँच जना मात्र बोक्न पाइने भएपछि आवतजावत गर्न निकै मुश्किल भएको दशरथचन्द नगरपालिका–४ का चन्द्रप्रकाश लोहिया बताउछन्। “गाडी कुर्दाकुर्दै दिन बित्छ,” उनले भने, “बसपार्कबाटै जिप नचढे यात्रा गर्नै सकिन्न ।” सवारीसाधान नपाएपछि घण्टौँ हिँडेरै यात्रा गर्नुपर्ने सुर्नया–३ की पवित्रा भट्ट बताउछन्। जिपले चर्को भाडा असुल्ने गरेको उहाँको भनाइ छ।
गोकुलेश्वरदेखि गन्नासम्मको भाडा रु १०० भए पनि अहिले २५० सम्म लिने गरेको स्थानीयवासी गङ्गासागर जोशीको गुनासो छ । सीमित मात्रामा चल्ने जिपले यात्रु महङ्गो भाडा तिर्न बाध्य भएको जोशी बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बढी भाडा असुल्नेलाई कारवाही गरिने बताउछन्।
सम्भावित दुर्घटना न्यूनिकरण गर्न थप गरिएका जिपका सिट हटाउन लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक आकाश रावलले बताए। पाँच सिट क्षमताको जिपमा १५ जनासम्म यात्रुसँगै सामान बोक्दा दुर्घटना धेरै हुने गरेको उनको भनाइ छ । पहिला दुर्घटना हुँदा यातायात कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था भए पनि अहिले सरकारले यातायातमा सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका यात्रुले क्षतिपूर्ति पाउन सकेका छैनन् ।