यातायात सम्पर्क विच्छेद हुँदा कालोबजारीको चिन्ता

| 2021 Sep 10 | 08:00 am 2073

पर्वत, भदाै २५ः अविरल वर्षाका कारण पहिरो जाँदा पर्वतसहित साविकको धौलागिरि अञ्चलका चार जिल्लामा आठ दिनदेखि यातायत सम्पर्क विच्छेद भएको छ ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा चुवादेखि पातिचौरसम्मको सडकमा २० ठाउँ पहिरो झरेका कारण पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला यातायात सम्पर्कबाट विच्छेद भएका छन् । यातायात सम्पर्क विच्छेद भएपछि ४ जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

सडक बन्द हुँदा विभिन्न कामका लागि आउ–जाउ गर्नुपर्ने चार जिल्लाका नागरिकले सास्ती त पाएका छन् । यहाँका सर्वसाधारणहरु आवात–जावतमा ठूलो सास्ती भइरहेको छ । सवारीसाधान नचल्दा पहिरो छिचोल्दै मानिसहरु पैदल हिँड्न थालेका छन् । बिरामीहरुलाई अस्पतालसम्म पुर्‍याउन समस्या भइरहेको छ । गम्भीर प्रकृतिका बिरामीलाई हेलिकोप्टरमार्फत पोखरा पठाउने काम भइरहेको पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए ।

सडक बन्द हुँदा चार जिल्लामा नै दैनिक उपभोग्य वस्तुको आयात ठप्प छ । इन्धन आयातसमेत रोकिँदा बजारमा अभाव हुँदै गएको छ । फलफूल तथा चाँडबाडमा चाहिने सामग्रीको पनि बजारमा अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले बताए । बाटो बन्द हुँदा मालवाहक ट्रकहरु भित्रिन नपाउँदा चारै जिल्लामा पेट्रोलियम पदार्थ, फलफूल तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुँदै जान थालेको छ ।

तीजमा तरकारी, फलफूललगायतका खाद्यवस्तुको उपयोग बढी हुने तर यही बेलामा ती वस्तुको अभाव हुँदै जान थालेको कुस्माका फलफूल तथा तरकारी व्यवसायी रामप्रसाद रखाल बताउछन्। ‘२ सय ५० मा बेच्ने गरेको स्याउ ४ सयमा, ६० को बन्दा सयमा, डेढ सयको काउली २ सयमा, ७० को करेला १ सय २० मा, ६० को टमाटर १ सय २० मा बेचिएको छ’, उनले भने– ‘गाउँबाट आउने उत्पादनलाई भाग लगाएर महँगोमा लिनुपरेको छ । त्यही पनि स्थानीय उत्पादनले त एकछेउ पनि हुँदैन । सबै कुरा बाहिरबाट आउने हो, व्यापार हुने तीजकै बेलामा सामान पाइएको छैन ।’

भीषण वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गको करिब साढे ८ किलोमिटर सडक क्षत–विक्षत भएको छ । अवरुद्ध सडकमा झरेका २० भन्दा बढी पहिरो हटाउनका लागि ८ वटा एक्साभेटर प्रयोग गरेर काम भइरहेको प्रहरी प्रमुख बुढाथोकीले बताए । चुवादेखि भ्याप्लेखोलासम्मको पहिरो हटाएर एकतर्फीरूपमा यातायात चल्न सकिने बनाइएको छ । भ्याप्लेमा खसेका ठूला ढुंगा फटाउन निरन्तर विस्फोट भइरहेको छ । बिहीबार साँझसम्म एकतर्फीरूपमा भए पनि सडक खुलाउने प्रयास भइरहेको डीएसपी बुढाथोकीले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.