यस वर्षको तिहारमा ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात

| 2019 Oct 21 | 10:40 am 2769

काठमाडौं, कात्तिक ४: दशैंपछिको नेपालीको दोस्रो ठूलो महान चाड तिहार नजिकिँदैछ । तिहार नजिकिँदै गर्दा व्यवसायीले त्यसबेला खपत हुने सामान विभिन्न मुलुकबाट नेपाल भित्राउन थालेका छन् ।

अत्यधिक मात्रामा तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, माला, मसला र टीका लगायतका सामान बढी नेपाली बजारमा खपत हुने गर्छ । बजारमा ती सामानको बिक्री शुरु भइसकेको छ । मुलुकमा लोडसेडिङ हटेपछि तिहारको बेला घरघरमा झिलिमिली बत्ती राख्ने क्रम बढेको छ ।

यस वर्षको तिहारमा करिब ८० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तिहारको लागि आवश्यक पर्ने बत्ती व्यवसायीले विभिन्न मुलुकबाट आयात गरिसकेका छन् । झिलिमिली बत्ती लक्ष्मी पूजाको दिनसम्म बिक्री हुनेगर्छ ।

महासंघले झिलिमिली बत्तीको मूल्य भने अघिल्लो वर्षको तुलनामा नबढ्ने दाबी गरेको छ । महासंघले विभिन्न कम्पनी र गुणस्तरको आधारमा झिलिमिली बत्तीको मूल्य समेत निर्धाण गरेको छ ।

महासंघले २० वटा दीयो भएको बत्तीको मूल्य बढीमा २ सय रुपैयाँसम्म कायम गरेको छ । यसैगरी लक्ष्मी, गणेश लगायत देवी देवता रहेको सानो बत्तीको मूल्य ३ सय र ठूलो साइजको ११ सय रुपैयाँसम्म तोकेको छ । तर व्यवसायीले पनि अघिल्लो वर्षको तुलनामा बढी मूल्यमै बेच्न थालिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.