यस्तो छ (तमू) ल्होसारको महत्व

| 2018 Dec 30 | 07:03 am 7441

नेपालमा विभिन्न वर्ण, जातजाति र समूहको साझा फूलबारीका रुपमा चित्रण गरिएको पाइन्छ । तापनि यी सम्पूर्ण जाति–जनजातिहरुले आ–आफ्नो जाति, वर्ण र धर्मअनुनसार आ–आफ्नो परम्परा तथा पद्धतिअनुकुल चाडपर्व, उत्सव, मेला, जात्रा मनाउन नपाएकोमा दुःखेसो गरेको यत्रतत्र–सर्वत्र सुन्न पाइन्छ । नेपालमा विभिन्न जाति, धर्म एवम् मत भएकाहरुले नयाँ वर्ष पनि विभिन्न समयमा र विभिन्न तिथिमितिमा आ–आफ्नो पद्धतिअनुसार मनाउन पाउनुपर्ने आपेक्षा गरिनछ ।

नेपालमा मंगोल जातिको उद्भवसँगै ल्होसार पर्वको परम्परा शुरु भएको मान्नुपर्छ । चीनमा प्रवर्तिन ल्होसार पर्व आज देश देशान्तरमा फैलिएको छ । संक्षेपमा भन्नुपर्दा चीनबाट निस्किएको ल्होसार पर्वको मूल मंगोलिया, भियतनाम, मलेसिया, तिब्बत आदि देशदेशान्तरमाहरुमा अनेक धारा हुँदै नेपाल भूमिमा समेत अविरल बगिरहेको छ ।

वर्तमानमा नेपालमा जातिगत रुपमा तीन प्रकारका ल्होसार मनाउने परम्परा पाइन्छ । गुरुङहरुले नयाँ वर्षका रुपमा पौष १५ मा तोला ल्होसार मनाउँछन् । तामाङहरुले माघ शुक्ल प्रतिपदामा सोनाम ल्होसारलाई नयाँ वर्ष आरम्भको पर्वका रुपमा मनाउँछन् । सेर्पाहरुले फाल्गुन शुक्ल प्रतिपदमा नयाँ वर्षको आगमनको स्वागतमा ग्याल्बो ल्होसार पर्व मनाउँछन् ।

यस प्रकार नेपालमा पौष, माघ र फाल्गुन तीनै महिना तोला, सोनाम र ग्याल्बो ल्होसारका महिना रहिआएका छन् । यहाँ के कुरा उल्लेखनीय छ भने नेपालमा मनाइने ल्होसार पर्वका स्रोत चीन–तिब्बत भए पनि यहाँ प्रचलित वर्ष र संवत्मा र चीनमा मनाइने वर्ष र संवत्भन्दा हजारौं वर्षका अन्तर पाइन्छ ।

नेपाललाई आफ्नो मातृभूमि बनाइसकेपछि नेपाली संस्कृति र परम्पराअनुसार ल्होसारलाई नयाँ वर्षका रुपमा रुपान्तरण गरेबाट यति ठूलो समयको अन्तराल रहेको कुरा बुझ्न सकिन्छ । वस्तुतः ल्होसार पर्वको विशेष अध्ययन, अनुशीलन, अनुसन्धान र खोज गरी यसको उचित संरक्षण गरेमा नेपालको इतिहासमा नयाँ जानकारी थपिन्थ्यो भन्ने तथ्य यहाँ विचारणीय हुन आउँछ ।

पौष महिनाको १५ गतेको राति तोला ल्होसार मनाउन आरम्भ हुन्छ । यस राति गाउँघरमा वृद्धवृद्धा, युवायुवती र केटाकेटीहरु सबै सामूहिक रुपमा एक ठाउँमा जम्मा भई महिलाहरुले घिउ, तेल र चामलको संग्रह गर्ने र पुरुषहरुले जम्मा गरिएको रुपियाँबाट माछा, मासु र रक्सी किनेर भोज गरी मोज गर्दै रात बिताउने चलन छ ।

नाचगान गरेर मानोरञ्जन गर्ने ल्होतुब अर्थात् नयाँ वर्षमा धार्मिक पाठपूजा गर्ने परम्परा पनि पाइन्छ । नयाँ वर्षका क्रममा पौष १५ गतेको आधारातमा नववर्ष आयो भन्दै नयाँ वर्षलाई स्वागत र अभिनन्दन गरिन्छ भने अर्को दिन अर्थात् १६ गते यो पर्व धुमधामसँग मानाइन्छ । बिहानैदेखि आफ्नो संस्कृतिअनुसार पूजापाठ गर्ने, एकअर्कासँग भेटघाट गर्ने, शुभाशीर्वाद दिने र मीठो–मीठो खाना खाने चलन छ ।

यस दिन गुरुङ (तमू) हरु परम्परामा (आसिमलाँ) भन्दै शुभकामना प्रकट गर्छन् । चेलीबेटी, आफन्त र नाता–कुटुम्बहरुलाई भोजनका लागि निमन्त्रणा गरी सम्पूर्ण शाखासन्तानहरु एकत्रित भई अत्यन्त हर्ष, उल्लास र उमंगका साथ ल्होसार म्हादिव अर्थात् नयाँ वर्षको पर्व मनाइन्छ । यसरी विश्वकै प्राचीन र प्राकृतिक पर्व ल्होसार नेपाललगायत विश्वभरिकै मंगोल मूलका व्यक्तिहरुका लागि सबै भन्दा ठूलो चाड हो भने नेपाली संस्कृतिको अभिन्न, अमूल्य र अद्धितीय निधि हो ।

नेपालको महान् चाड ल्होसारले एकातिर नेपाल राष्ट्रिय बहुविध धर्म र संस्कृतिको अनेकतामा एकता कायम गरी नेपाल राष्ट्रलाई शक्तिसम्पन्न र विश्वप्रसिद्ध बनाएको छ भने अर्कातर्फ हाम्रा शासकहरुलाई सबै जातजाति र जनजातिहरुका चाडपर्व र धर्म–संस्कृतिप्रति समान आदरभाव राख्न शिक्षा दिएको छ । यही सन्देश ल्होसार पर्वले आज हामीहरुलाई दिइरहेको छ । (नेपालको राष्ट्रिय चाडपर्व डा ऋषिप्रसाद शर्माद्वारा लिखित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.