यस्ता पो नगर पिता

| 2023 Jan 25 | 01:38 pm 2077

गुल्मी, माघ ११ः स्थानीय तहको निर्वाचन भएको १० महिना नबित्दै रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जनताको स्वास्थ्य स्थिति र उपचार सरल बनाउन उल्लेख्य कार्य गरेका छन् । निर्वाचन सम्पन्न भए लगत्तै आफ्ना नगर भित्रका मृगौला रोगीका लागि निःशुल्क डाइलोसिस गरिदिने घोषणा गरी कार्यको सुरु गरेका प्रमुख पन्थीले त्यस लगत्तै आँखाको मोतियाबिन्दु अप्रेशन लगायत अर्थोपेडिक विशेषज्ञ ल्याएर सेवा उपलब्ध गराएका छन् ।

जनप्रतिनिधिले मनमा लिएर कार्य गर्ने हो भने छोटो अवधिमा धेरै काम गर्न सकिने रहेछ भन्ने उदाहरण प्रमुख पन्थीले दिएका छन् । जिल्ला अस्पताल तमघासमा स्वास्थ्यकर्मीलाई स्थाई रुपमा राख्नका लागि प्रमुख पन्थीले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेका छन् ।

पहाडी अस्पतालहरुमा विशेषज्ञ डक्टरहरु आउन नमान्ने र आइहाले पनि धेरै समयसम्म बस्न नखोज्ने प्रकृयालाई रोक्न रेसुङ्गा नगरपालिकाले प्रोत्साहन र आवश्यक उपकरण पनि खरिद गर्ने गरेको छ । गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन सुरु गरेको छ ।

हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आवश्यक सीआरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गरेको छ । पुनः गुल्मी अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टरको पनि सेवा थप भएको छ । त्यस्तै अस्पतालमा अर्का मेडिकल जनरलिष्ट डाक्टर पनि थप भएका छन् । जिल्लामा स्त्रीरोग विशेषज्ञ डाक्टरहरुको अभावमा सेवा लिन पाल्पा बुटवल जानुपर्ने बाध्यता थियो।

त्यसको अत्यका लागि गुल्मी अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर थप गरिएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उत्तम पाच्याले बताए । गुल्मी अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा दिन डाक्टर सोफिया थापा आएकी छन् ।

त्यस्तै जिल्लामा स्त्रीरोग विशेषज्ञ डाक्टरको अभावमा कैयौं बिरामी पाल्पा बुटवल जानुपर्ने बाध्यतालाई अत्य गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी र गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर उत्तम पाच्याले पहल गरेका थिए । सोही अनुसार जिल्लामा धमाधम विशेषज्ञ डाक्टरहरु थप हुँदै जान थालेका छन् ।

गुल्मी अस्पतालमा आएका स्त्रीरोग विशेषज्ञ डाक्टर सोफिया थापा र मेडिकल जनरलिष्ट डाक्टर नरमा छन्त्याललाई रेसुङ्गा नगरपालिकाले सम्मान गरेको छ । उनीहरुको काम गर्ने मनोबललाई थप हौसला प्रदान गर्न नगरपालिकाले सम्मान गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले गुल्मेली नागरिकलाई सेवा दिने क्रममा नम्र व्यवहारले भरपुर सेवा प्रदान गर्न आग्रह गरे । गुल्मी अस्पतालाई आम नागरिकको मेरो अस्पताल हो भन्ने भावना जगाउन थप स्तरीय सेवाका लागि रेसुङ्गा नगरपालिकाले सधै सहकार्य गर्ने नगरप्रमुख पन्थीले प्रतिबद्धता जनाएका थिए ।

स्मरण रहोस नगर प्रमुख पन्थीको पहलमा आर्थिक धरापमा परेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई १ करोड अनुदान दिने घोषणाले क्याम्पस ढल्नबाट जोगिएको छ । प्रमुख पन्थीले स्वास्थ्य र शिक्षा मात्र होइन खेलकुद लगायत अन्य विकासका लागि पनि करोडौंको बजेट बिनियोजन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.