यसरी शुरु भयो बीपीको काठमाडौं दोस्रो यात्रा

| 2019 Feb 02 | 09:47 am 1820

हजारीबाग जेलमा रहँदा बीपीको स्वास्थ्य निकै बिग्रिसकेको थियो । थुनामुक्त भए पनि उनलाई पटना छोड्ने अनुमति थिएन । २००१ चैतताका श्रीमती सुशीलालाई लेखेका पत्रमा बीपी भनेका छन्, “मेरो स्वास्थ्य अझसम्म राम्रो भइसकेको छैन ।

जेलबाट छुटेपछि स्वास्थ्यलाभ गरौंला भन्ने लागेको थियो । घटनाक्रमले छल्यो ।” पटना छोड्ने अनुमति पाएपछि मात्र बीपीले उपचार गर्ने अवसर पाए । कही समय स्वास्थ्यलाभ गरपछि उनी पार्टी स्थापनाका लागि गृहकार्य गर्न थाले ।

२००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना गरे । लगत्तै विराटनगर जुटमिल्समा भएको मजदुर आन्दोलनको नेतृत्व गर्ने क्रममा पक्राउ परे । काठमाडौं जेलमा रहँदा घाँटीको क्यान्सर देखापर्यो । जेलबाट छुटेपछि उपचारका लागि बम्बै गए ।

फेरि राजनीतिमा सक्रिय भइहाले । २००५ असोज २६ गते स्थापना भएका नेपाल प्रजापञ्चायत नामक संस्थाले तिहार सकिनासाथ काठमाडौंमा सत्याग्रह सुरु गर्ने निर्णय गरेको थियो ।

त्यो संस्थामा “सूर्यबहादुर भारद्वाज, गोपालप्रसाद रिमाल, कृष्णप्रसाद रिमाल, धर्मरत्न यमी, तुलसीलाल आमत्य, विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, नरबहादुर कर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ, त्रिपुरवरसिंह प्रधान, नूतनबहादुर थपलिया, चन्द्रशेखर श्रेष्ठ, लक्ष्मीभक्त श्रेष्ठलगायत सक्रिय थिए ।

भारत निर्वासनमा आनुअघि महाराज पध्म नेपालको वैधानिक कानुन बनाई केही नागरिक अधिकार दिएका थिए । तर मोहन शमशेर सत्तामा आउनासाथ श्री ३ पध्मको घोषणा लत्याउँदै हुकुमी तानशाही चलाउन थाले ।

प्रजापञ्चायतले आन्दोलन गर्ने निर्णय गर्दै सहयोगका लागि राष्ट्रिय काँग्रेसका नेताहरुलाई पत्राचार गरेको थियो । आफ्ना समर्थक धेरै मानिस थुनामा परेकाले नेतृत्व दिन शीर्ष तहकै नेता काठमाडौं आउनुपर्यो भन्ने उसको आग्रह थियो ।

त्यो बेला बीपी पटना, गणेशमान रक्सौल र कृष्णप्रसाद भट्टराई बनारसमाबस्थे । राष्ट्रिय काँग्रेसका तर्फबाट काठमाडौं पठाउने नेताको विषयमा छलफल गर्न बीपीले पटनामा कार्यसमिति बैठक बेलाए ।

लामो छलफलका क्रममा अध्यक्ष मातृकाप्रसाद कोइराला र गणेशमानले आफैँ जाने चाहाना राखेका थिए । मातृकालाई काठमाडौंमा धेरैले चिन्ने र गणेशमानमाथि ज्यान मुद्दा रहेकाले दुबैलाई पठाउन उतिच नहुने टुङ्गोमा कार्यसमिति पुग्यो ।

अन्ततः बीपी आफैं जाने निधो भयो । नेपाल प्रवेश गर्नुअघि बनारसमा रहेका कृष्णप्रसादलाई खबर पठाए, “तपाईँ चाडै आउनुस्, सल्लाह गर्नु छ । साँझ चार बजे बीपीको टेलिग्राम पाएका भट्टराई बाटो खर्च खोजेर त्यही राति रेल चढी बिहानै पटना पुगे ।” बोलाउनुपर्ने कारण सहित बीपीले योजना सुनाए ।

त्यसपछि सुरु भयो बीपीको दोस्रो काठमाडौं यात्रा । उनलाई साथ दिए, कृष्णप्रसाद, केदारमान ब्यथितले । पटनाबाट जयनगर जाने र राति खेतको बाटो हुँदै नेपाल प्रवेश गर्ने योजना बन्यो ।

बीपी जयनगर आएको खबर पाउनासाथ भेट्न गएका काँग्रेसीले उनलाई चिन्नै सकेनन् । तीमध्येका एक पूर्वमन्त्री रामहरि जोशीले लेखेका छन्, “बीपीले सोध्नुभयो– मलाई काठमाडौंमा चिन्लान् कि नचिन्लान् ।” जोशीले जवाफ दिए, “तपाई जस्तो सुन्दर व्यक्तित्व भएको मानिसलाई नचिन्ने त कुरै छैन ।” बीपी केही दिन जयनगर बसे ।

जोशीलाई उनी काठमाडौं जाने कुराको सुइँको पनि थिएन । अर्को दिन साथी जयनारायण गिरीका साथ बीपीलाई भेट्न पार्टी कार्यालय पुगेका जोशी “बीपीले दाह्री पालेको देखेर छक्क परे ।” बीपीले भनेका छन्, “त्यहाँबाट मैले आफ्नो कायापलट गरे ।

म जहिले पनि दाह्रीजुँगा काट्थे । मैले जुँगा राखे, दाह्री काटे । चस्मा लगाए फलामको फ्रेम भएको, त्यो पनि फ्रेम टुटेको, बूढोले लगाउने जस्तो थोत्रोथोत्रो किसिमको चस्मा लगाएँ ।” निधारमा चन्दन लगाई, ठूलो टुप्पी बनाएर आफ्नो भेष ठ्याक्कै टपरे बाहुनको जस्तो बनाए ।

राणाका जासुसले सुईँकोसम्म नपाउन् भन्नका लागि उनीहरुका आधुनिक पहिरन भारतीय बोर्डरपारि नै छाडिए । कसैले शंका नगरोस् भनेर मानिसहरुले सुन्ने गरी बीपी भीडभाड भएका ठाउँमा पुग्नासाथ संस्कृतका श्लोक सुनाउँदै भनिहाल्थे, “ल ल कृष्णप्रसाद थाकियो । म अलिकति ध्यानपूजा गर्छु, तिमि खानेपिउने व्यवस्था गर ।” यसरी जनकपुर, सिन्धुली, रामेछाप हुँदै तीनै जना पैदल बनेपासम्म पुगे ।

तिहारको समय, जुवा फुकेको थियो । उत्सव र चाडपर्वमा राणाहरु यसरी नै जुवा फुक्का गर्थे । बीपी नाला भन्ज्याङ पुग्दा मानिसहरु जुवामा रमाईरहेका थिए । नालाको प्रहरीचौकी छल्ने काम उनीहरुका लागि अन्तिम चुनौती थियो ।

त्यही चौकी पार गरेपछि उपत्यका पुगिन्थ्यो । नाला पुग्दा घाम डुब्नै लागेको थियो । साघुँरो बाटो अनि त्यहीँ जमेको जुवामा सर्वसाधारणका साथ प्रहरी च्याखे थापेर रमाइरहेका थिए । ब्रह्मणको भेषधारी बीपीले च्याँखे थापेर घुलमिल हुने उपाय निकाले ।

शंका नहोस् भन्नका लागि उनले “निधारमा रातो टीका, एक हातमा पैसा र अक्षताको बोतो लिएका थिए ।” भीडमै घुसेर उनले भने, “होइन अलिकति च्याँखे हालौ न ।” पण्डितको क्रियाकलाप चाख मानेर हेरिरहेका पुलिस भन्न थाले, “जजमानीबाट आएको दक्षिणा सबै जाला नि, होस् गर्नुस् है पण्डितजी ।”

प्रहरी नै नचिनेपछि मन ढुक्क भयो । वातावरण सहज बनाउँदै बीपी भन्दै थिए, “ल तियामा हाल त एउटा मोहर ।” यस्तो क्रम दुईचार पटक चलिरह्यो । बीपी भन्थे, “ल फेरि एक पटक हाल । आइ पो हाल्छ कि १” तर, हरेक पटकको दाउमा उनी गुमाइरहेका थिए ।

जनि पटक राखे पनि खाइदिने । परबाट फेरी उही सिपाही आएर भन्न थाल्यो, “अब धेरै नगर्नुस् । बज्यै रिसाउनुहोला नि । जजमानीबाट रुपियाँ आउला, खाने कुरा खाउँला र तिहार मनाउँला भन्ने आसमा कुरेर बस्नु भएको होला । धेरै खेलेर नउडाउनुस् । जानुस् ।” गुरुलाई जुवा नफापेपछि भट्टराई जुवाकै श्लोक सुनाउन थाले । वातावरण एकदमै रमाइलो हुन थाल्यो ।

बीपी फेरि हौसिए, “ल ल हो फेरि एक पटक हाल त, कतै भाग्यले साथ दिई पो हाल्छ कि ।” अन्तिम प्रयास पनि काम लागेन । बीपी भन्न थाले, “बडो नराम्रो रहेछ । सबै सिद्धियो । अब जानुपर्छ । उठौं ।” जुवा त निहुँ मात्र थियो । “प्रहरीका आँखा छलेर भन्ज्याङ काट्नु लक्ष्य थियो । जुवामा टाट पल्टेका पण्डित ठानेर सिपाहीले सहानुभूतिपूर्वक जान दिए ।” नाला काटेर भक्तपुर पग्दा साँझको सात बजिसकेको थियो ।

फाट्टफुट्ट ट्रक र अरु गाडी पाइन्थे काठमाडौं जान । बल्लतल्ल उटा ट्रक फेला पर्यो । बीपी पण्डितजी र कृष्णप्रसाद शिष्यकै भेषमा थिए । बाटाभरी राँगा व्यापारीको भेषमा रहेका केदारमान व्यथित पुराना पोसाक बदलेर ठँहिटिका जुत्ता व्यापारी बनिसकेका थिए ।

प्रजापन्चायतसँग सम्पर्क गरी काँग्रेसको संगठन विस्तार गर्ने र नागरिक अधिकारका लागि आन्दोलन चर्काउने मुख्य लक्ष्य थियो । काठमाडौं सहर प्रवेश गरेपछि नेवार वस्तीमा सतर्कतापूर्वक बीपी भेटघाटलाई तीब्र बनाउन थाले । त्यो बेला राणाको जेल तोडेर भारत पुगेका गणेशमान चर्चाको शिखरमा थिए ।

उनकी पत्नी मंगलादेवी पनि आन्दोलनमा सकृय थिइन् । यस्तैमा एक दिन गोपालसुन्दर प्रधानले एउटा बेनामे पत्र मंगलादेवीको हातमा दिए । चिठीमा लेखिएको थियो, “प्रवासबाट हाम्रा नेताहरु आउनुभएको छ । भेटघाट गर्ने कार्यक्रम छ, आउनुहोला ।”
नेताहरुका लागि भनेर मंगलादेवीले “केही रसगुल्ला र अलिकति फलफूल किनिन् ।” भीमसेनथानस्थित गोविन्द९पन्नालाल ठुकुजुजु०को घरमा भेटघाटको कार्यक्रम राखिएको थियो ।

बीपी र कृष्णप्रसाद भट्टराईसँग उनको पहिलो चिनजान त्यही भयो । राणाका जासुसको आँखा छल्नका लागि त्यसबेला बीपी घर फर्दै बस्थे । बीपीलाई काठमाडौंमा पहिलो पटक भेटेपछि प्रभावित भएको उल्लेख गर्दै मंगलाले भनेकी छन्, “मनमनै लाग्यो, नेता भनेको त यस्तो पो हुनुपर्छ ।” त्यो भेटमा बीपीले मंगलाललाई सोधेका थिए, “आन्दोलनका लागि मान्छे जम्मा गर्न सकिन्छ सकिन्न ?” मंगलाले “सकिन्छ” भन्ने जवाफ दिएपछि बीपीले फेरी सोधे, “जुलुसमा पनि जान सक्छन् त मानिसहरु ?” भेटेजतिलाई राणाशाहीको विरोधमा जागरुक बनाउँदै थिए उनी ।

राणाशासन हटाउन हामीले नेपाली काँग्रेस पार्टी बनाएका छौं भन्दा मानिसहरु सोध्ने गर्थे, “को को छन् त तपाईहरुको संगठनमा ?” बीपीले भनेका छन्, “गणेशमानजीको नाम लिँदा उनीहरु भन्थे, त्यो त गुण्डा हो, मूर्ख मानिस हो ।(बीपीको विद्रोह जगत नेपाल)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.