यसरी फुल्छ वैशाख १ गते ढकमक्क फूल

| 2019 Apr 14 | 07:17 am 2068

काठमाडौं, वैशाख १ : सल्हेस फूलबारीको मध्यभागमा हारमका दुइटा रूख छन्। यसमा रहेको चाँदीगाभा (सुनाखरी) वैशाख १ गते ढकमक्क फुल्छ। फूल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ। यो ठाउँ पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ भोटिया टोल चोकबाट डेढ किलोमिटर दक्षिणमा पर्छ।

हारमका रूखनजिकै प्रतिमासहित मालिनी मन्दिर छ। त्यसको ५० मिटर दक्षिणमा सल्हेस मन्दिर छ। यहाँको कथा १४औं शताब्दीका राजा सल्हेस र उनका प्रेमिका मालिनीहरू (रेशमा, कुशमा र दौना) बीचको सम्बन्धसँग जोडिएको छ। त्यस बेला सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। यहींका राजा थिए, सल्हेस। किंवदन्तीअनुसार उनी मानिक दहमा स्नान गर्थे। फूलबारीमा फूल लिन्थे। सिल्हट अखडामा कुस्ती खेल्थे। सल्हेस गढमा गएर देवीदेवताको पूजा गर्थे।

फूलबारी मालिनीहरूको थियो। उनीहरू तत्कालीन मोरङ राज्यका हिनपैत माइलका छोरी थिए। फूलबारीनजिकै सल्हेसले कुस्ती खेल्ने अखडा थियो। मालिनीहरूले सल्हेसलाई दैनिक फूल चढाउँथे। त्यही क्रममा उनीहरूले एकतर्फी प्रेम गर्न थालेको कथन छ। बिहे भए÷नभएको विषयमा कतै उल्लेख पाइँदैन। फूल अर्पण गर्ने दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख १ गते सुनाखरी फुल्ने गरेको किंवदन्ती छ। यही फूल मालिनीहरूले सल्हेसलाई दिन्थे रे।

‘सल्हेस र मालिनीहरूबीचको प्रेम प्रगाढ थियो। यो फूल उनीहरूकै प्रेमको प्रतीक हो भन्ने जनविश्वास छ’, पुजारी जितेन्द्र धामी दनुवारले भने, ‘फूलबारीमा अनेकौं रूख भए पनि माला आकारका यी फूल मालिनीको गहबर ९मन्दिर० छेउ एउटै जराबाट निस्केका दुई रूखमा मात्र देखिने गरेको छ।’

त्यही फूलका रूपमा सल्हेस र मालिनी प्रत्येक वैशाख १ गते प्रकट हुने गरेको जनविश्वास छ। यही हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाहीलगायत जिल्लाबाट सर्वसाधारण आउँछन्। भारतका दरभंगा, मोतीहारी, समस्तीपुर, मधुवनी, सीतामढी, वेगुसराय, मुझपरपुर, पटना र वैशालीबाट पनि श्रद्धालु आउने गरेका छन्।

यो वर्ष पनि भारतबाट श्रद्धालु आइपुगेका छन्। उनीहरू फूलबारीमा एक रात बास बसी नयाँ वर्षमा फूल हेरेर फर्किन्छन्। मोतीहारीका रविशंकर पासमानका अनुसार सल्हेस पासमान जातिका कुलदेवता हुन्। त्यही भएर पूजा गर्न आउने गरेको उनले सुनाए।

मेला भर्न आएकाहरूले मनोकामना पूरा होस् भनेर अनेक भाकल गर्छन्। निःसन्तानहरू सन्तान प्राप्ति, दीर्घरोगीहरू सुस्वास्थ्य र मनोकामना पूरा गर्न सल्हेसको पूजा गर्छन्। भाकल पूरा भएपछि बोकापाठीको बलि दिने र कागजको छाता (झाप) चढाउने परम्परा छ।

यहाँजस्तै सिरहा सदरमुकामस्थित महिसोथा गढ, लहान नगरपालिकाका पकडिया गढ, ब्राह्मण गोर्छारी, मानिक दह र लक्ष्मीपुरपतारी गाउँपालिकास्थित पतारी पोखरीमा सँगै मेला लाग्ने गरेको छ। ती स्थानमा सल्हेसलगायत उनको गाथासँग जोडिएका पात्रका प्रतिमा देख्न पाइन्छ ।

वनस्पति विभागले यो फूलबारे अध्ययन गरी सन् २०१६ मा पुस्तक प्रकाशन गरेको छ। पुस्तकमा सल्हेस फूलबारीका हरेक बोटबिरुवाबारे चर्चा गरिएको छ। डेन्ड्रोबियम एफाइलम नामक सुनाखरी रूखमा टाँसिएर रहेको हुन्छ। नेपालका पूर्व र मध्यभागमा समुद्री सतहबाट १ हजार ५ सय मिटरसम्मको उचाइमा यो पाइन्छ।

चैत अन्तिमदेखि वैशाख मध्यसम्म फुल्ने अध्ययनले देखाएको छ। वर्ष २०७५ लाग्नुअगावै चैत २८ देखि फुलेको थियो। यसको काण्डबाट विभिन्न किसिमका शक्तिवद्र्धक एवं कोसीय अंगको वृद्धि हुने खालका औषधि बनाइन्छन्।(अन्नपूर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.