दार्चुला, असार ३ः उच्च हिमाली भेगबाट उत्पत्ति भई मध्य पहाड र शिवालिक श्रृंखला हुंदै मैदानी क्षेत्रमा बहाव हुने महाकाली नदीमा २०७० असार २ गते महाकाली नदीमा आएको भिषण बाढीले दार्चुला जिल्ला सदरमुकाम लगायत महाकाली नदी किनाराका १ सय ५० घरधुरी १२ बटा सरकारी कार्यालय भवन ४ बटा मठमन्दिर एवं करिब २ हजार रोपनी खेती योग्य जमिन बगाएर ठूलो धनजनको क्षति भएको थियो ।

तत्कालिन जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं.७ धनगढीले बाढी पश्चात स्थलगत निरीक्षण गरी तत्काल आपतकालिन संरक्षण कार्य गरेकोमा धनगढीबाट दार्चुलामा निमार्ण कार्यको सुपरभिजन अनुगमन गर्न कठिनाई हुने देखिएकाले मिति २०७१ भदौ १३ को निर्णयानुसार महाकाली नदी नियन्त्रण आयोजनाको स्थापना भएको हो । जस अनुसार आयोजना स्थापना हुने बितिकै स्वीकृत दरबन्दी अनुरसारका कर्मचारी व्यवस्थापन गर्न सिचाइ मन्त्रालय, जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग बाट केही समय ढिलो हुन गई मिति २०७१ असोज २७ मा मात्र आयोजनाको कार्यालय खुली कर्मचारीहरुको पदास्थापना भएकोले सो अवधि देखि निमार्ण कार्य सुचारु गरिएको थियो ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन नं. ७ ले तयार गरेको गुरुयोजना अनुसार जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नं. ७ धनगढीबाट बाढी पश्चात् परामर्शदाता नियुक्त गरी अध्ययन गराई दिर्घकालिन संरक्षणको प्रश्ताव तयार गराइएको थियो ।
यसै क्रममा महाकाली नगरपालिकाको ४.५ किलोमिटर क्षेत्रभित्र भने आयोजनाले पक्की तटबन्ध निर्माण गरेको छ । लास्कु देखि नमस्कार मन्दिरसम्मको क्षेत्रमा पक्की तटबन्ध निर्माण गरेको छ । यो तटबन्धको बंगाबगड र पूलघाट क्षेत्रमा निर्माण जारी छ ।

जसबाट सदरमुकाम रहेको महाकाली नगरपालिका पूर्णरुपमा सुरक्षित भएको छ भने करिव २ हजार ५ सय रोपनी खेतीयोग्य जमिन सुरक्षित भएको छ । तर हालसम्म पनि बाढीपीडितहरुले राहत पाउन नसकेको स्थानीयको जन गुनासो छ ।
त्यसैगरी नेपाल–भारत जोड्ने व्यास गाउँपालिका १, छाङ्गरु नजिकै रहेको महाकालीको सीतापुल भत्किने अवस्थामा पुगेको भन्दै तारजालसहितको तटबन्ध निर्माण सुरु गरिएको छ । पूल भन्दा र तल माथि नदीले कटान गरेको भन्दै तारजालीसहितको तटबन्ध निर्माण सुरु गरिएको हो ।
नदीले कटान गरेको क्षेत्रमा महाकाली नदी नियन्त्रण आयोजनामार्फत तटबन्ध निर्माणको काम सुरु गरिएको व्याँस गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताए ।
स्थानीय अमनसिह बोहराका अनुसार नेपालतिरको भूभाग थप कटान हुन नदिन तारजालीसहितको तटबन्ध बनाउन सुरु गरिएको बताए । विगतमा प्रदेश सरकारमार्फत तिंकर भएर आउने खोला क्षेत्रमा तडबन्ध निर्माण गरिएको थियो ।
छांगरुको गंगा क्षेत्र जोगाउन तटबन्ध निर्माण भए पनि कालापानी भएर बग्ने महाकाली नदीको कटान रोक्न यो पटक नदी नियन्त्रण आयोजनामार्फत तटबन्धको काम लगाउन थालिएको छ ।
महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलका अनुसार नदी छेउबाट तीन लेयरमा ग्याबिन तारजालीको अस्थायी तटबन्ध निर्माणको कामअघि बढाइएको र पुलछेउको दायाँ र बायाँ क्षेत्रमा ३९ मिटर लम्बाइको अस्थायी तटबन्धको काम गरिने बताए ।

आयोजना प्रमुख पौडेलले भने, पूल भन्दा माथिल्लो क्षेत्रमा तारजाली राख्ने काम सकिएको जानकारी आएको छ, पूल क्षेत्रमा लगाउन अनौपचारिक सहमति मिलेको छ ।
उक्त तटबन्ध निर्माणका क्रममा केही दिन अघि मात्रै यो क्षेत्रमा तटबन्ध निर्माणमा भारतीय सुरक्षाकर्मी एसएसबीले काममा अवरोध पुर्याएका थिए । नेपालले एकतर्फी तडबन्ध निर्माणको काम थालेको भन्दै भारतले आपत्ति जनाएको थियो ।
सो तटबन्ध निर्माणमा अवरोध गरेको भन्दै सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्मले जिल्लामा खबर गरेपछि प्रशासनले धारर्चुला प्रशासनसँग समन्वय गरेर अवरोध हटाएको थियो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार सुरुमा काम रोकेको हो । सशस्त्र प्रहरीले पनि आफ्नो समकक्षी (काउन्टर पार्ट) सँग छलफल गरेपछि सहज भएको हो ।
जिल्लाको ६ वटा नाका मध्ये व्याँसको सीतापुलमा सबैभन्दा विकट क्षेत्रको नाका हो । यो क्षेत्रमा त्यहाँका स्थानीयबासीहरु काठेपूलमार्फत आवत जावत गर्दछन् । उक्त पूल वर्षौदेखि जीर्ण अवस्थामा रहेको छ । जीर्ण पूल निर्माणमा सम्बन्धीत निकायको अझसम्म ध्यान गएको छैन् ।
व्याँसको सीतापूल देखि लेकमको लालीसम्म तटबन्ध महाकाली नदी नियन्त्रण आयोजनाले तारजालीको निर्माण गर्दैछ । ०७० सालमा महाकाली नदीले सदरमुकाम खलंगाको अधिकांश भू–भाग कटान गर्दै बगाएपछि अहिले पूरै महाकाली क्षेत्रका जोखिम ठाउँमा तटबन्ध निर्माण भइरहेको हो ।
आयोजना प्रमुख शोभाकर पौडेलका अनुसार व्याँस गाउँपालिकाको वडा नम्बर १ छांगरु सितापूल, घाटिबगर, वडा नम्बर २ को तम्बाकु, दुम्लीङ, रिठान, वडा नम्बर ४ को बर्तिबगर, र वडा नम्बर ५ तिगरम लगायतका क्षेत्रमा तडबन्ध निर्माणको काम भइरहेको छ ।
यो क्षेत्रमा बज्रगुरु कन्सट्रमक्सन मार्फत तटबन्ध निर्माण काम भइरहेको छ । सितापूल बाहेक अन्य क्षेत्रमा तडबन्ध राख्ने काम सकिएको छ । नदी नियन्त्रण आयोजनाले दुहुँको श्रीवगडमा पनि तटबन्ध निर्माण गरेको छ । विगतमा धार्मिकस्थल रहेको श्रीवगडमा ०७० को बाढिले क्षति गरेपछि यो क्षेत्रमा पक्की तटबन्ध र तारजालीसहितको तटबन्ध निर्माणको काम भइरहेको आयोजना प्रमुख पौडेलले बताए ।
तार जालीसहितको तटबन्ध बनेपछि श्रीवगत क्षेत्र सुरक्षित बनेको छ । अहिले नदीको धार पनि पूरानै लयमा फर्किएको छ ।
यस्तै महाकाली नगरपालिकाको किम्तडी, धाप, दत्तु, सकार, मालिकार्जुन गाउँपालिकाको उकु जौलजीवि हुँलै लेकम गाउँपालिकाको लालीसम्मका विभिन्न जोखिम क्षेत्रमा तारजालीको तटबन्ध लगाउने काम गरिएको छ ।
आयोजनाले तारजालीको तटबन्ध निर्माणमा मात्रै हालसम्म ९ करोडको ठेक्का सम्झौता गरेको थियो । तारजालीसहितको तटबन्ध निर्माणपछि स्थानीयको जमिन कटान रोकिएको छ । ०७० सालको बाढि पछि दार्चुला सदरमुकाम खलंगा र महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माणको काम अघि बढेको हो ।