यसपालीकाे दशैँ टिकाको शुभ मुहुर्त सार्वजनिक

रिपोर्ट नेपाल | 2018 Sep 22 | 04:24 pm 5662

काठमाडौँ, असोज ६ : विगतका वर्ष झै यस वर्ष पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।

यस वर्ष असोज २४ गतेबाट नवरात्र सुरु हुने र यसै दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको छ । त्यस्तै असोज २५ गते बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताए ।

२८ गते आइतबार पचली भैरव यात्रा परेको छ । ३० गते मङ्गलबार फूलपाती भित्र्याइने दिन रहेको छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ ।

३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ । देवीको प्रसाद (टिका) लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत रहेको अध्यक्ष प्रा डा गौतमले बताएका छन् ।

शुक्रबार विजयादशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गरिन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ ।
त्यस्तै ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.