काठमाडौं, चैत २१ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले हावाहुरीपीडितलाई प्रारम्भिक राहत वितरण कार्य सम्पन्न भइसकेको बताएका छन् । गत चैत्र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले उद्धार र उपचारपछि अस्थायी बसोबासका लागि आवास बनाउने कार्य भइरहेको जानकारी दिए।
‘आँधी पीडितहरूका लागि अस्थायी रूपमा खाने बस्ने व्यवस्था मिलाइसकिएको छ। घाइतेहरूको उपचार पनि भएको छ, यसपटक सरकारले समयमै उद्धार गरेन भनी पीडितबाट गुनासाे सुन्नुपरेन।’ उनले भने, ‘गृह मन्त्रालयको समन्वयमा क्षतिको यथार्थ विवरण संकलन गर्ने काम भइरहेको छ । त्यसकै आधारमा पुनर्स्थापना र पुनर्निर्माणको काम हुन्छ।’
हावाहुरी प्रभावित क्षेत्रमा आवश्यक काम तदारूकताका साथ भइरहेको भन्दै मन्त्री बाँस्कोटाले खाद्य, सञ्चार, खानेपानी र औषधि उपचारका लागि नयाँ टिम पठाइने बताए।अहिले पीडितहरूबाट कुनै पनि किसिमका गुनासा नआएका उनले जिकिर गरे।
‘हावाहुरी पीडितहरूले तत्काल उद्धार भएन भन्ने गुनासो सुन्नु परेको छैन’, उनले भने। पानी पर्ने पूर्वानुमान गर्न सकिने भए पनि हावाहुरी, पहिरोको अनुमान गर्न नसकिने भएकाले विपतको व्यवस्थापन र उद्धारका लागि राज्यले तयारी गरिरहेको बताए ।
उनले सरकारले सवारी उपभोग कर बढाउने निर्णय गरेको बताए । गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले सवारी साधनहरुको सडक उपभोग दस्तुरमा वृद्धि गरी यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
उनका अनुसार बैठकले सार्वजनिक सेवामा हड्ताल निषेध गरेको छ। ‘सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ’, मन्त्री बाँस्कोटाले भने।
बैठकले युनाइटेड सिमेन्टस् प्रालिको नौबिसेस्थित सिमेन्ट कारखानास्थल सम्म जाने आउने औद्योगिक पहुँचमार्ग/सडकमार्ग निर्माण तथा सञ्चालन गर्नका लागि धादिङ जिल्लाको धुनिवेशी नगरपालिका ९ मा रहेको पोखरीडाँडा सामुदायिक वनको कुन ०.१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ।