म्यानमारमा बन्धक बनाएर स्क्यामिङमा लगाउने कविता ब्युरोको फन्दामा

| 2023 Dec 11 | 04:45 pm 529

काठमाडौँ, मंसिर २५ / मानव बेचबिखन अनुसन्धान ब्यूरोले म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने गोरखा धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरूङलाई पक्राउ गरेको छ। गुरूङले थाइल्याण्डमा अंग्रेजी टाइपिङको काम हुने र मासिक एक लाख बढी कमाइ हुने, खाने बस्ने व्यवस्था हुने भन्दै दुई जनालाई झुक्याएर म्यानमारसम्म पुर्‍याएको प्रहरीको दाबी रहेको छ ।

दुई जना पीडितलाई बिजनेस भिसामा म्यानमारको म्यावडीस्थित चिनियाँहरूले सञ्चालन गर्ने कम्पनीमा पुर्‍याएको र त्‍यसबापत गुरूङले दुई लाख ६० हजार रुपैयाँ समेत लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कम्पनीमा कामदारहरूले अमेरिकी नागरिकहरूलाई ठगेर पैसा असुली गर्ने काम दिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाउने, लभ ट्र्यापमा पारेर पैसा असुली गर्ने जस्ता कामहरू गर्न लगाएको पाइएको छ।

यसरी काम गर्दा लक्ष्यअनुसारको पैसा असुली गर्न नसकेमा यातना दिने गरेको कुरा पनि ब्युरोको अनुसन्धानबाट खुलेको जनाइएको छ। कतिपयलाई करेन्ट समेत लगाउने गरेको पाइएको छ। त्यहाँबाट फर्किन खोज्दा पनि चिनियाँहरूले आठ नौ लाख रुपैयाँ तिर्न बाध्य बनाएको ब्युरोले जनाएको छ।

पक्राउ परेकी कवितामाथि अनुसन्धान गर्न ब्युरोले काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ। गत शुक्रबार मात्रै ब्युरोले यसमा संलग्न एक पुरूषलाई समेत पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.