काठमाडौँ, माघ २। सरकारले बेलैमा स्रोत सुनिश्चित नगर्दा भीड नियन्त्रणमा नेपाल प्रहरीले प्रयोग गर्ने अश्रुग्यास सेललगायतका उपकरण अभाव देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा खरिद गरिएका करिब ३० हजार ग्यास सेल मिति गुज्रिएर नष्ट गर्नुपर्ने अवस्थामा छन् । म्याद गुज्रिएका त्यति नै परिमाणका सेल गत वर्ष नष्ट गरिएको थियो ।
ढाललगायतका अन्य थुप्रै सामग्री प्रयोग अवधि पूरा भएर कमसल बनिसकेका छन् । तर पनि म्याद गुज्रिएकालाई विस्थापित गरेर नयाँ खरिद गर्न सरकारले चासो दिएको छैन । शान्तिसुरक्षा कायम गर्ने उपकरण मात्र होइन, प्रहरीले रगत बोक्ने प्रयोजनका लागि एक थान एम्बुलेन्सको जोहो गरिदिन सरकारसँग माग गरेको थियो । मागको सुनुवाइ नभएपछि पटक–पटक गृह मन्त्रालयमा पनि ध्यानाकर्षण गराएको थियो । त्यसबाट पनि पार नलागेर ‘व्यक्तिगत पहलमा दाताबाट अनुदान’ मा ग्रहण गर्नुपरेको एक प्रहरी अधिकारीले सुनाए ।
सुरु गरिएका खरिद प्रक्रिया कमिसन चलखेलका कारण बीचमै अवरुद्ध भएका छन् । करिब २ वर्षअघि हातहतियार/गोलीगट्ठा र केही भीड नियन्त्रणका उपकरण किन्न भनेर करिब ८४ करोडको खरिद प्रक्रिया अघि बढाइएको थियो । कतिपय उपकरण ८ गुणासम्म महँगोमा किन्ने प्रपञ्च रचिएको बारे कान्तिपुरको खुलासापछि सरकार प्रहरीका उपकरण किन्ने प्रस्तावबाट पछि हटेको थियो । यो प्रकरण र कमिसन खेलमा प्रहरीका केही अधिकारी, बिचौलिया र नेताहरू जोडिएका थिए । सरकारले ‘विदेशी मुद्रा सञ्चिति अभाव’ देखाएर खरिद स्थगन गरेको थियो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयले घातक सुरक्षा सामग्रीबाहेक भीड नियन्त्रणका उपकरण मात्रै भए पनि किन्न सूचीसहित पटक–पटक गृह मन्त्रालयमा प्रस्ताव पेस गर्यो । तर, प्रस्ताव गरेअनुसारका उपकरण खरिद भएको छैन ।
त्यसको असर शान्तिसुरक्षा व्यवस्थापनका लागि फिल्डमा खटिने प्रहरीको कामकारबाहीमा देखिएको छ । कम घातक सुरक्षा उपकरण अभावमा प्रहरीले घातक बल प्रयोग गरेर विरोध/प्रदर्शनलाई नियन्त्रणमा लिने गरेको छ । पछिल्लो पटक पुस १३ मा ललितपुरको बालकुमारीमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली र बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत मारिएका थिए । त्यसको अर्को साता पुस २० मा सर्लाहीको बरहथवामा भड्किएको विरोध प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोलीबाटै स्थानीय युवा जयशंकर शाह मारिएका थिए ।
दुवै घटनाको जाँचबुझ गर्न आयोग र समिति बनेका छन् । प्रतिवेदन आउन बाँकी नै छ । सरकारले भने मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र रोजगारीको ग्यारेन्टी गरिसकेको छ । घातक बल प्रयोगको बाध्यता हटाउन भने सरकारबाट अझै ठोस निर्णय हुन सकेको छैन ।
दुवै घटनाको पृष्ठभूमि भीड नियन्त्रण उपकरण अभावसँग जोडिएर आउने नेपाल प्रहरीका निमित्त प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की बताउँछन् । ‘भीड नियन्त्रण गर्न चाहिने आवश्यक उपकरण अभाव छन्, कतिपय उपकरण म्याद गुज्रेर काम नलाग्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने ।
म्याद गुज्रेका उपकरण विस्थापित र आवश्यकता पूर्ति गर्न केही साताअघि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा माग सूचीसहितको प्रस्ताव पेस गरेको छ । जतिसक्दो चाँडो कम घातक उपकरण खरिद नगर्ने हो भने आफूसँग जेजस्ता हातहतियारलगायतका बन्दोबस्ती छन्, त्यहीबाट काम चलाउनुपर्ने बाध्यता रहेको प्रहरी अधिकारीहरू बताउँछन् । म्याद गुज्रिएका अश्रुग्यास प्रयोग गरेको भनेर प्रहरीमाथि मानवअधिकारका दृष्टिबाट पनि प्रश्न उठ्ने गरेको छ । बालकुमारी/ग्वार्को क्षेत्रको प्रदर्शनमा प्रहरीले डेढ सयभन्दा बढी अश्रुग्यासका सेल प्रहार गरेको थियो । त्यसमध्ये धेरैजसो मिति गुज्रेका ग्यास सेल थिए । म्याद गुज्रेकै कारण अश्रुग्यासले काम नगर्दा भीड नियन्त्रण गर्न कठिन भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।
बरहथवा र बालकुमारी घटनापछि प्रहरी प्रधान कार्यालयले म्याद गुज्रेका अश्रुग्यासलगायत उपकरण विस्थापित र त्यसलाई पूर्ति गर्ने गरी खरिद बजेटको जोहो गरिदिन गृहमा प्रस्ताव गरेको हो । प्रहरीले २ साताअघि गृहमा पठाएको प्रस्तावमा भीड नियन्त्रणमा खटिने सुरक्षाकर्मीले लगाउने ‘व्यक्तिगत सुरक्षा उपकरण (राइट कन्ट्रोल गियर) ८ हजार ८ सय थान, २४ हजार राउन्ड अश्रुग्यास, भीडलाई तर्साउन/चेतावनी दिन प्रयोग हुने
१ लाख ‘ब्ल्यांक राउन्ड’, रबरका बुलेट २ लाख राउन्ड, २ हजार थान ‘ह्यान्ड स्मोक ग्रिनेड’, करिब ५ हजार थान मल्टी ग्यास गन सेल, पेपर स्प्रेसहितका सामग्री समावेश छ । यसको लागत ४० देखि ५० करोड रुपैयाँ अनुमान गरिएको छ ।
‘भीड तथा विरोध प्रदर्शनका बेला नागरिकका वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत सम्मान र संरक्षण गर्दै त्यसको आवरणमा हुने अराजक, उच्छृंखल र उत्तेजक गतिविधि नियन्त्रण गर्न न्यूनतम क्षति हुने गरी कमभन्दा कम बल प्रयोग गरेर परिस्थिति नियन्त्रणमा लिन सक्ने परिस्थिति बनाउन त्यहीअनुसार गैरघातक उपकरण खरिद प्रस्ताव गरेका छौं,’ एसएसपी कार्कीले भने ।
(कान्तिपुरबाट)