म्याग्दी, कात्तिक १५: शुक्रबार म्याग्दीको मालिका गाउँपालिका २ रुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जिप दरवाङ रुम सडकको ताक्सेमा पल्टिएको हो।
उक्त दुर्घटनामा परी मालिका २ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले जानकारी दिए।
मालिका १ का जिपका चालक ३३ वर्षीय डम्मरबहादुर सिउथानीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिपमा सवार अन्य १५ यात्रु भने सकुशल रहेका छन्। जिप पल्टिदा भिरमा खसेका यात्रु छतमा चढेका हुन सक्ने प्रहरीको अनुमान छ। भिरबाट निकालेका यात्रुको अवस्था सामान्य रहेको छ । उकालो बाटोमा जिप ब्याक भएर सडकमै पल्टिएको हो।